रेखा थापाको फिल्मले उठाएकी मनिषा
 
                    
                    
                    
                    काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा चर्चित नाम हो मनिषा पोखरेल। उनका ‘हात्ति-घोडा हैन माया चाहियो’, ‘नाच्न त जान्दिनँ म’, ‘काली तिम्रो नजरैले गोली मार्यो’ लगायत थुप्रै गीत चर्चित छन्।
१२ सयभन्दा बढी गीतमा स्वर भरेकी मनिषाले स्टेज कार्यक्रम पनि उत्तिकै गरेकी छन्। गायनमा प्रवेशदेखि अहिलेसम्मको अनुभव मनिषाले उकेरासँग यसरी व्यक्त गरिन्ः
मेरो गायन यात्रा विराटनगरबाट सुरु भए पनि संगीत सिक्न भने २०५८ सालदेखि नै थालिसकेको थिएँ। विराटनगरको स्वर संगम संगीतालयबाट गायनको क्लास लिएँ, जहाँ गायनका गुरु कुशेश्वर राईले सिकाउनुभयो। मैलै अहिलेसम्म नेपाली, थारु, मैथिली, भोजपुरी, मराठी, पन्जाबी र हिन्दी गीतमा स्वर भरिसकेको छु।
निषेधाज्ञामा गायन सिकाउँदै
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौंबाट विराटनगर घरमा आएँ। बाहिर हिँडडुल गर्न नमिल्ने भएकोले घरमै बसेर टिभी हेर्ने, गीतको अभ्यास गर्ने, रियाज गर्ने काम गरिरहेको छु।
त्यस्तै अनलाइनबाट ५/६ जना विद्यार्थीलाई म्युजिक क्लास पनि लिइरहेको छु। अनलाइनबाट नै भए पनि केही साथीहरुले सिक्छु भन्नुभयो। त्यसैले अनलाइनबाट म्युजिक क्लास लिइरहेको हुँ।
थुप्रै गीत रेकर्डका क्रममा छन्। निषेधाज्ञा रहुन्जेल विराटनगर नै मेरो बसाइ हुनेछ। निषेधाज्ञा खुलेपछि मात्रै काठमाडौं फर्किन्छु।
स्टेज कार्यक्रम सम्झिरहेको छु
हामी कलाकारले धेरैजसो स्टेज कार्यक्रम गरेर स्रोता-दर्शकको मन जितिरहेका हुन्छौँ। तर कोरोना महामारीका कारण सबै क्षेत्र ठप्प रहेकोले यस्तो बेला स्टेज कार्यक्रम गर्दाको सम्झना आउने रहेछ।
किनभने, कलाकारलाई टिकाउने नै स्टेज कार्यक्रम हो जस्तो मलाई लाग्छ। गायक-गायिकाको जीविका चलाउने आधार पनि हो, स्टेज कार्यक्रम। किनकी, हामी साइड विजनेस चलाउन सक्दैनौँ। कार्यक्रम र गीत रेकर्डिङ भन्दैमा समय बित्छ। साइड विजनेज गर्ने समय नै हुँदैन।
कोरोना महामारी थिएन भने देश तथा विदेशका कार्यक्रममा म व्यस्त रहन्थेँ। गत वर्ष मलाई थुप्रै कार्यक्रममा निम्तो आएको थियो तर कोरोनाका सबै कार्यक्रम स्थगित भए।
यस वर्ष पनि नयाँ वर्षको छेको पारेर केही कार्यक्रम गरेको थिएँ। अहिले त कोरोनाका कारण कार्यक्रम हुने कुरै भएन। कार्यक्रमभन्दा पनि पहिला आफू बच्नुपर्यो अनि मात्र मनोरञ्जन।
 
रेयुकाई आइडल भएपछि सांगीतिक यात्राको सुरुवात
२०६० मा रेयुकाई आइडल भएको थियो। यो पूर्वाञ्चलस्तरीय थियो। त्यो आइडलमा म विजेता बनेको थिएँ। आइडलको विजेता भएपछि एउटा गीत रेकर्ड गराइदिने भन्ने थियो। सम्झौता अनुरुप मेरो आवाजमा पहिलो पटक ‘एक फेर फेरि तिम्रो हुन मन लाग्यो’ बोलको गीत रेकर्डिङ भएको थियो। त्यो नै मेरो पहिलो पटक रेकर्ड भएको गीत हो।  
मैले नेपाली बाहेक थारु, मैथिली, भोजपुरी, मराठी, पन्जाबी र हिन्दी गीत समेत गाइसकेको छु। नेपालीपछि मैथिली र भोजपुरी गीत धेरै गाएको छु, जुन चर्चामा पनि छन्।

रेखा थापाको फिल्ममा गाउने अवसर
म चलचित्र र अन्य गीतहरुमा कोरस गाइरहेको हुन्थेँ। कोरस गायनका लागि पनि मलाई अफर आइरहन्थ्यो। मेरो मनमा यो गीत मात्रै गाउने, त्यो नगाउने भन्ने छैन। दिनमा नै ५/६ वटा गीतमा कोरस गाएको छु। ‘कसले चोर्यो मेरो मन’ गीतमा पनि मैले कोरस गरेको छु।  
रेखा थापाको फिल्मको गीत गाउनुमा चाहिँ एउटा संयोग छ। स्टुडियोमा हामी ग्रुपमा कोरस गाइरहेका थियौँ। कोरस गाउने क्रममा माइक चेक गर्नुपर्ने हुन्छ। त्यो बेलामा गुनगुनाउने क्रममा कलाकार तथा संगीतकार कमलकृष्ण पौडेल सरले मेरो आवाज मन पराउनुभयो।
उहाँले रेखा दिदीको फिल्ममा काम गरिरहनुभएको रहेछ। उहाँलाई मेरो स्वर चलचित्रका लागि फिट हुन्छ जस्तो लागेछ। उहाँले मलाई कोरस गाइसकेपछि भेट है भन्नुभयो। मैले भेटें अनि कलम सरले मसँग सोधखोज गर्नुभयो।
त्यसपछि उहाँले मलाई रेखा थापाको फिल्ममा गीत गाउने अफर गर्नुभयो। रेखाको चलचित्रमा गीत गाउन पाउँदा छोड्ने कुरै भएन। उहाँले ‘रावण’ चलचित्रको ‘हात्ती घोडा होइन माया चाहियो’ बोलको गीत गाउने अवसर दिनुभयो।
कमल सरकै संगीतमा रहेको यो गीत मैले मिहिनेत गरेर गाएँ। जब यो गीत सार्वजनिक भयो, स्रोता-दर्शकले एकदमै मन पराइदिनुभयो। यो गीत निकै चल्यो। यो गीत गाएपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
यो गीतको सुटिङ गर्दा रेखा थापाकै स्वर हो भनेर चर्चा हुन्थ्यो रे। गीतको सुटिङको क्रममा धेरैले रेखा थापाकै स्वर हो भनेपछि उहाँले को रहेछ मेरो अभिनयलाई मिल्ने गीत गाउने, को नयाँ सिंगर आएछ भनेर मलाई भेट्न खोज्नु भएछ। कमलकृष्ण सरले तिमीलाई रेखाले भेट्न खोज्दै हुनुहुन्छ भन्ने कुरा मलाई सुनाउनुभयो।
पछि मैले रेखालाई भेट्दा उहाँले अँगालो मारेर अबदेखि मेरा जति पनि फिल्म बन्छन्, त्यसमा तिमीले नै गाउनुपर्छ भन्नुभएको थियो। त्यसपछि रेखा दिदीले निर्माण गरेका हरेक फिल्ममा मैले गीत आउने अवसर पाएको हो। रावण पछि हमेशा, हिम्मतवाली, राम पियारीमा गीत गाउने अवसर पाएँ।
हिट भए पनि कोरसलाई हेला गरिनँ
पहिलो चलचित्रमा गीत गाइसकेपछि म हिट भएँ। तर हिट भएँ भन्दै कहिल्यै हिडिनँ। कोरस गाउन अफर आउँदा नाइँ कहिल्यै भनिनँ। किनभने, मलाई कोरस गायनले माथि उठाएको हो। कोरस गायन र फिल्मका गीत दुवैलाई निरन्तरता दिइरहें।
म गायिका भएँ भन्ने फिल नै हुन्न
चलचित्र रावणको ‘हात्ती घोडा होइन माया चाहियो’ गीत चर्चामा हुँदा पनि मैले आफू गायिका भएँ भन्ने फिल नै गर्न सकिनँ। मलाई अहिले पनि सफल गायिका भएँ जस्तो लाग्दैन। अझै पनि थुप्रै संघर्ष गर्न बाँकी छ जस्तो लाग्छ।
मेरो ‘काली तिम्रो नजरैले’ बोलको गीत निकै हिट भयो। यो गीत मैले स्टेजमा गाउनेमध्येको एक हो। यो गीत स्टेजमा चढेर गाउँदा दर्शकले सँगसँगै गाइदिनुहुन्छ। यस्तो बेलामा चाहिँ गायिका भइछु की जस्तो लाग्छ।
जात्रैजात्रा फिल्मको ‘एक एक जोडे दुई’ स्टेजमा गाउँदा पनि दर्शकले खुब साथ दिनुहुन्छ। स्टेजमा दर्शकले साथ दिँदा थप गीत गाउन हौसला मिल्छ। एउटा गायकलाई दर्शकको हौसला र माया नै त सबैभन्दा ठूलो सम्पत्ति रहेछ।
जेठ ३०, २०७८ आइतबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    