लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु, प्रचारात्मक र नारामा सीमित भएको प्रतिपक्षीको आरोप

बुटवल : लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आजबाट छलफल सुरु भएको छ।
प्रदेशसभाकाे आजकाे बैठकमा प्रतिपक्षी दलका नेताले सरकारले ल्याएको नीति तथा कार्यक्रम नारामा सीमित भएको आरोप लगाएका छन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्धिन खानले नीति तथा कार्यक्रममा अभियान र नारा राम्रा भए पनि यसको सार्थकताका लागि सरकारले ठोस अवधारणा प्रस्तुत गर्न नसकेको बताए।
सरकारले प्रदेशको औचित्य पुष्टि गर्ने गरी नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्नेमा प्रचारात्मक र नारामा सीमित नीति कार्यक्रम ल्याएको उनको आरोप छ।
प्रमुख सचेतक खानले प्रदेशको स्थायित्व र दिगो विकासका लागि प्रतिपक्षी दलले जहिले पनि सरकारलाई सहयोग गरेको जनाउँदै सरकार अझै पनि देखिने र भेटिने अवस्थामा नरहेको प्रष्ट पारे।
गत मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रतिपक्षी दलका सचेतकबाहेक अन्य सदस्यहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका थिए।
गत वैशाख १९ गते मुख्यमन्त्रीको नियुक्तिपछि प्रतिपक्षी सांसदमाथि भएको दुर्व्यवहारका कारण प्रदेश प्रमुखलाई बहिस्कार गरिएको उनीहरुले बताएका छन्।
बैठकमा प्रदेशसभा सदस्य भूमिश्वर चौधरीले कोरोनाका कारण ज्याला मजदुरी गर्नेहरु बढी समस्यामा रहे पनि नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन गर्न नसकेको धारणा राखे।
प्रदेशसभा सदस्यहरु दीपेन्द्र पुन मगर, शङ्कर गिरी, तेजबहादुर ओली, तुलाराम घर्ती मगरलगायतले नीति तथा कार्यक्रममा राजनीतिकरण गरिएको आरोप लगाए।
प्रदेशसभाको बैठकमा सत्ता पक्षका सदस्यहरुले भने सबै पक्षलाई समेटेर नीति कार्यक्रम ल्याएको बताएका छन्।
बैठकमा सत्ता पक्षका सदस्य तुलसीप्रसाद चौधरीले सरकारले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकासलगायत सबै क्षेत्रलाई समेटेर नीति कार्यक्रम ल्याएको भन्दै यसैका आधारमा बजेट आउने बताए।
प्रदेशसभा सदस्यहरु थानकुमारी थापा, विमला पन्थी र कमला बिकले शिक्षाको व्यावसायीकरण र रोजगारीमूलक बनाउने गरी नीति कार्यक्रम आएकोले यसले युवालाई प्रोत्साहन गर्ने बताए।
प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ।
जेठ २८, २०७८ शुक्रबार २०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।