गण्डकीमा मुख्यमन्त्री नियुक्तिका लागि आधार पेस गर्न प्रदेश प्रमुखद्वारा सांसदलाई आह्वान

काठमाडौं : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि आधार पेस गर्न प्रदेश सांसदलाई आह्वान गरेकी छन्।
प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिको आधार पेस गर्न प्रदेश सांसदलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
संविधानको धारा १६८ (३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको प्रक्रिया थालेकी हुन्।
प्रदेशसभाबाट विश्वासको मत पाउन नसक्दा मुख्यमन्त्री गुरुङ हिजो पदमुक्त भएका थिए।
प्रदेशसभामा उनले पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ मत खसेको थियो। यस्तै, उनको विपक्षमा ३० मत परेको थियो।
६० सिट रहेको प्रदेशसभामा बहुमत संख्या ३१ हो।
संविधानको धारा १६८ (५) मा धारा १६८ (३) अनुसार नियुक्त मुख्यमन्त्रीले एक महिनामा विश्वासको मत नपाए प्रदेशसभाबाट विश्वासको मत पाउन सक्ने आधार भएको प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
यसरी नियुक्त भएको मुख्यमन्त्रीले पनि ३० दिनमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने धारा १६८ (४) मा उल्लेख छ।
गत वैशाख २९ गते प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा गुरुङलाई प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
जेठ २८, २०७८ शुक्रबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।