रूपन्देहीमा तीन दिनमा १२ हजारभन्दा बढीले लगाए भेरो सेल खोप, १० प्रतिशतले लगाउन बाँकी

बुटवल : रूपन्देहीमा १२ हजारभन्दा बढी नागरिकले कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्धको भेरो सेल खोप लगाएका छन्।
यही जेठ २५ गते (गत मंगलबार) सुरु भएको खोप कार्यक्रमअन्तर्गत रूपन्देहीमा तीन दिनमा लक्षित समूहका १२ हजार २ सयले कोभिड १९ विरुद्धको खोप लगाएका हुन्।
खोप कार्यक्रमअन्तर्गत लक्षित समूहका करिब ९० प्रतिशतले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय, रूपन्देहीले जनाएको छ।
स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले जिल्लामा कुल १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा करिब १० प्रतिशतलाई खोप लगाउन बाँकी रहेको जानकारी दिए। खोप लगाउन बाँकी रहेकालाई आज र भोलि खोप लगाइने उनले बताए।
उनका अनुसार जिल्लाका १६ स्थानीय तहका ६९ वटा खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइँदै छ।
खोप कार्यक्रमअन्तर्गत बुटवलमा २ हजार २ सय ८१ जनालाई खोप लगाएका छन्। यस्तै, देवदहमा ८ सय ५६, तिलोत्तमामा १ हजार ६ सय, लुम्बिनीमा १ हजार ४ सय ५४ र सैनामैनामा लक्ष्य अनुसार ९ सय १५ जनाले खोप लगाएको स्वास्थय कार्यालयले जनाएको छ।
यसैगरी, सिनपामा ७ सय ९७, गैडहवामा २ सय २६, कंचनमा ३ सय ५९, कोटहीमाई ६१, मर्चवारी ८९, मायादेवी ३ सय १३ जनाले खोप लगाएका छन्।
जेठ २८, २०७८ शुक्रबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।