एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नेपाल पक्षका १७ प्रदेश सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नेपाल पक्षका १७ प्रदेश सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण 
सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाह।

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधवकुमार नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। 

पार्टीको निर्देशनविपरीत गत मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहित १७ जना प्रदेश सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले प्रदेश कमिटीको निर्देशन अटेरी गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएकाले एमालेका १७ प्रदेश सांसदलाई स्पष्टीकरण सोधिएको जानकारी दिए। 

प्रदेश संसदीय दलका नेता शाहको स्पष्टीकरण पत्रमा पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारण पेस गर्न भनिएको छ। 
संसदीय दलका नेता शाहलाई पार्टीको निर्देशनविपरीत सरकारमा आफू र अरुलाई पनि सहभागी गराउनुपर्ने कारण पनि सोधिएको छ। 

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठकले पार्टी निर्देशनविपरीत विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका थिए। उक्त प्रस्तावको विपक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीका ७ सांसदले भने उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए। 
 
उक्त प्रस्तावको विपक्षमा मत दिने सातै प्रदेश सांसदलाई एमाले प्रदेश संसदीय दलका नेता शाहले गत मंगलबार स्पष्टीकरण सोधेका थिए। उनीहरुले बुधबार शाहलाई स्पष्टीकरण बुझाइसकेका छन्।          

यसअघि यही जेठ १० गते एमाले अध्यक्ष ओली समूहका नेता मात्रै सहभागी स्थायी कमिटी बैठकले प्रदेश संसदीय दललाई माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। तर, माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो।

जेठ २७, २०७८ बिहीबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।