सुदूरपश्चिम प्रदेश : एमाले ओली समूहका सांसद् बोहराले मागे मुख्यमन्त्रीको राजीनामा

धनगढी : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहका सुदूरपश्चिम प्रदेश सांसद् पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरेका छन्।
शुक्रबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको आठाैं तथा बजेट अधिवेशन बैठकमा उनले मुख्यमन्त्री भट्टको राजीनामा मागेका हुन्।
‘एमालेले प्रदेश सरकारलाई समर्थन फिर्ता लिइसकेपछि सरकार अल्पमतमा परेको छ। त्यसकारण मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,’ उनले भने।
साथै उनले प्रदेशसभा बैठकमा आफूहरूका लागि प्रतिपक्षको सिटको व्यवस्था नगरेको भन्दै आपत्तिसमेत जनाए। प्रदेश सरकारलाई समर्थन फिर्ता लिइसकेकोबारे प्रदेशसभालाई समेत जानकारी गराइसकेको अवस्थामा आफूहरू प्रतिपक्ष भइसकेको उनको भनाइ थियो।
सभामुख अर्जुन थापाले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै सांसद् बोहरा बोलेका थिए।
बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारले जनमुखी बजेट ल्याउनुपर्ने सुझाव दिए।
‘बजेट विगतको जस्तो नहोस्,’ उनले भने, ‘कम्तीमा लोककल्याणकारी बजेट ल्याउनुपर्छ।’
प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आज बजेट अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश सरकारले बजेट ल्याउनुभन्दा १५ दिनअगावै अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान भए पनि यस वर्ष राजनीतिक किचलोका कारण ढिलो गरी बजेट अधिवेशन आह्वान भएकाले ढिलाइ भएको छ।
तर, सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गर्दै बजेट ल्याउनुभन्दा ७ दिन अगाडि नीति कार्यक्रम ल्याउनुपर्ने व्यवस्था गरेको छ। असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रदेशसभाको आठाैं अधिवेशनकाे दोस्रो बैठक जेठ २३ मा बस्ने छ।
जेठ २१, २०७८ शुक्रबार १८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।