ओलीले सोधे सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ४८ घण्टे स्पष्टीकरण

धनगढी : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका छन्।
अध्यक्ष ओलीले शाहलाई बिहीबार स्पष्टीकरण सोधेको एमाले प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए।
रावलका अनुसार स्पष्टीकरणमा शाहलाई एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान समेतको आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन नगर्नुको कारण सोधिएको छ।
यस्तै, स्पष्टीकरणमा शाहसँगै पार्टी केन्द्रले प्रदेश सरकारलाई समर्थन फिर्ता लिँदा पनि प्रदेश सरकारको मन्त्री पदमा कायमै रहनुको जवाफ मागिएको रावलले बताए।
यसअघि शाहलाई प्रदेश कमिटीले पनि स्पष्टीकरण सोधेको थियो। शाह केन्द्रीय सदस्य भएको हुँदा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका हुन्।
यही जेठ १० गतेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि पार्टीको प्रदेश संसदीय दलले भने उक्त निर्देशन अटेर सरकार छाडेको थिएन।
जेठ २१, २०७८ शुक्रबार १६:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।