ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनमा विरोध

गत जेठ १५ गते बजेट नीति तथा कार्यक्रममा सुकेटारको नाम परिवर्तन गरी रवीन्द्र अधिकारी विमानस्थल राख्ने उल्लेख भएपछि विरोध सुरु भएको हो।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नै नाम परिवर्तन नगर्न दबाब दिएका छन्।
ऐतिहासिकरूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय परिवर्तन गर्न नहुने उनको भनाइ छ। उनले भनेका छन्, ‘त्यसको आवश्यकता र औचित्यता, सान्दर्भिकता र परिणामबारे स्थानीय सरोकारवाला तथा जनप्रतिनिधिसँग सहमति लिन जरुरी छ। यसले मात्र सहभागितामूलक लोकत्र बलियो हुन्छ।’
स्थानीय सरोकारको विषयमा केन्द्रीय स्तरबाट हस्तक्षेप गर्न नहुने उनको तर्क छ।
विमानस्थलको नाम परिवर्तनबारे ताप्लेजुङका स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलले समेत विरोध जनाएका छन्।
नेकपा एमालेको केपी शर्मा ओली समूहबाहेक सम्पूर्ण राजनीतिक पार्टी र तिनका भ्रातृ संगठनले ऐतिहासिक पहिचानको नाम मेटाउने षड्यन्त्र भएको भन्दै विरोध जनाएका हुन्।
फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले समेत नाम परिवर्तनमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।
ओली निकट मानिएका प्याकुरेल स्थानीयको दबाबमा पुरानै नाममा सहमति जनाउन बाध्य भएका छन्। उनले नगर कार्यपालिकाको छलफलबाट निर्णय गरेर नाम परिवर्तन नगर्न अनुरोध गरेका हुन्।
नगरपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाउँदै विमानस्थलको नाम परिवर्तन नगर्न आग्रह गरेको छ।
मेयर प्याकुलेलले हस्ताक्षर गरेको पत्रमा राजधानी र जिल्ला जोड्ने ऐतिहासिक क्षेत्र जिल्लावासीको भावनासँग जोडिएकाले त्यसमा कुनै पनि फेरबदल नगर्न अनुरोध गरिएको छ।
उता ताप्लेजुङ सुनसरी सरोकार समाजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न आग्रह गर्दै ध्यानाकर्षण गराएको छ।
यही जेठ १५ गते प्रस्तुत बजेटको ३५६ बुँदामा ताप्लेजुङका जनताको भावना विपरीतको निर्णय परेको हुँदा सच्याइनुपर्ने माग गरिएको छ।
जनताको भावना नबुझी एकतर्फ सांस्कृतिक, ऐतिहासिक र मौलिक अस्मितामाथि नै प्रहार गर्ने काम भएको हुँदा उक्त निर्णय फिर्ता लिन माग गरिएको छ।
२०७५ फागुन १५ गते बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिकाको दारेढुंगामा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो, जसमा अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, यती एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसी थिए।
सरकारले भने सुकेटार विमानस्थल अधिकारीको नाममा राख्ने र तेह्रथुमको आठराईमा निमार्णाधीन विमानस्थल यती एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पाको नाममा राख्ने योजना बनाएको छ।
जेठ २०, २०७८ बिहीबार ००:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।