दरबारका सचिव शम्भु अधिकारीको कथन : नारायणहिटी हत्याकाण्डको कारण रानी ऐश्वर्य र युवराज दीपेन्द्रको झगडा

दरबारका सचिव शम्भु अधिकारीको कथन : नारायणहिटी हत्याकाण्डको कारण रानी ऐश्वर्य र युवराज दीपेन्द्रको झगडा

 

नुवाकोट जिल्लाको थान्सिङमा जन्मिएका शम्भुप्रसाद अधिकारीले लामो समय नारायणहिटी राजदरबारमा काम गरे। उनी दरबारको तत्कालीन खर्च विभागका सचिव थिए।  गिरिजाप्रसाद कोइरालाको सरकारले ५८ वर्ष पुगेका कर्मचारीले स्वतः अवकाश पाउने नीति बनाएपछि २०६३ चैत १ मा उनले अवकाश पाए।अधिकारीको ४३ वर्षको दरबारको यात्रामा पूर्णबिराम लाग्यो। 

आधिकारिक रुपमा उनले २०६३ मै अवकाश पाए तर अहिले पनि नारायणहिटी दरबारमा पूर्व मुमा बडामहारानी रत्नको सेवामा काम गरिरहेका छन्। 

उनी बैदार सरहको पद ‘जुनियर क्लर्क’को रुपमा २०२० सालमा दरबार छिरेका थिए। दरबारभित्रै रहेर स्नातकसम्म अध्ययन गरे। पछि बढुवा हुँदै सचिवसम्म भए। जागिरबाट अवकाश पाउँदा अधिकारी सचिव भएको २३ महिना भएको थियो। 

अधिकारीको दरबार यात्रा प्रमुख सैनिक सचिवालयबाट सुरु भएको थियो। तत्कालीन राजा महेन्द्रका एडिसी शेरबहादुर मल्लले उनलाई सचिवालयमा जुनियर क्लर्कको जागिर दिएका थिए। महेन्द्रको राजकाजमा अधिकारीले ८ वर्षसम्म काम गर्न पाएका थिए। वीरेन्द्रले राजकाज सम्हालेपछि अधिकारीले वीरेन्द्र राजगद्दीमा रहँदासम्म काम गरे। 

२०२० मा सैनिक सचिवालयमा काम सुरु गरेका उनी २०५० मा दरबारको खर्च विभागमा सरुवा भएका थिए। वीरेन्द्रको क्षेत्रीय भ्रमण हुँदा उनी सहयोगीको रुपमा प्रायः सँगै हिँडे। उक्त भ्रमणको ‘इन्साइक्लोपिडिया’ भनेर अधिकारीलाई अहिले पनि चिनिन्छ। उक्त यात्रामा को कुन दलमा छ, कस्तो विचारधाराको मानिस हो भनेर सहजै छुट्याउन सक्ने भएकाले उनीमाथि राजपरिवारको ठूलो विश्वास थियो। 

अधिकारी १० वटा उप-सचिवमध्ये नजिक घर भएको, हरहिसाब जानेको, साँझ-बिहान बोलाउँदा आउने भएकाले तत्कालीन राजा वीरेन्द्रको नजरमा परेका थिए। त्यसैले गर्दा वीरेन्द्रले उनलाई खर्च विभाग प्रमुख बनाए।

दरबारमा रहँदा दरबारका थुप्रै रङहरु देखे अधिकारीले। राजाको शौखदेखि दरबारका कामदारसँग समेत उनको परिचय थियो। हरेक कामलाई नजिकबाट नियालेका थिए उनले। दरबारमा रहँदा उनले देखे-भोगेकामध्ये सबैभन्दा पछिल्लो घटना दरबार हत्यकाण्ड हो। आज दरबार हत्याकाण्डको २० पुगेको छ। दरबार हत्याकाण्डबारे अधिकारी के भन्छन् त? उनकै शब्दमाः

०००
जेठ १९ गते दसहरा भएकाले दरबारमा सिदा दानको कार्यक्रम थियो। पूजाकोठामा दसहराको कार्यक्रम हुने गर्थ्यो।  त्यो बेला म दरबारको अर्थ विभागको सेकेन्ड म्यान थिएँ। त्यो दिन बडामहारानी ऐश्वर्याले हामीलाई समय बक्सिएको थियो।

हामीलाई ११ बजेको समय बक्सिएकाले म लगायत केही दरबारका पदाधिकारी, पूजा कोठाका बाजेसमेत बडामहारानीलाई कुरेर बसेका थियौं।

हामीले उहाँलाई कुर्दाकुर्दै पौने एक बज्यो। बडामहारानी सरकारले नै गर्ने गरेको थियो उक्त पूजा। त्यो बेला दरबारको पूजाकोठा श्रीसदनको बाहिर ग्यारेजभन्दा उत्तरतर्फ रहेको थियो। 

हामी उक्त पूजाकोठामा ११ बजे सवारी हुन्छ भनेर कुरेर बसेको, तर धेरै बेरसम्म पनि सवारी भएन। किन समयमा सवारी भएन, त्यो कुरा दैव जानून्, हामीलाई थाहा भएन। 

उहाँको सवारी पौने एक बजे आफैंले मोटर चलाएर भयो। आउँदा एकदमै रातो मुख लगाएर आउनुभएको थियो। मोटर पार्क गरेर तीन-चार वटा सिँढी ओर्लनु पर्थ्यो। उहाँ ती सिँढीहरूमा टक-टक बढो बेगमा ओर्लिएर भन्नुभयो,‘अहो! तिमीहरूलाई त मैले ११ बजेको लागि समय दिएको थिएँ।’ 

हामीले पूजाको काम केहीबेरमा सक्यौँ। 

त्यस दिन तत्कालीन युवराजलाई मन्त्र सुनाउने गुरु नयनराज पाण्डेको विवाह भएको ६० वर्ष पूरा भएको थियो। गुरुले गर्नुभएको निम्ता मान्नका लागि राजपरिवारका पाँचै जना डिल्लीबजार सवारी भएको थियो। 

ठकुरीहरूको नियमअनुसार बाबुआमाको आज्ञाभन्दा गुरुको आज्ञा मान्नुपर्छ भन्ने छ। सायद त्यो दिन राजारानीले गुरुलाई दीपेन्द्रलाई केही सम्झाइदिन आग्रह भएको हुनुपर्छ। आफूले भन्नुपर्ने कुरा पनि गुरुमार्फत भन्न लगाउनु भएको हुनुपर्छ। मैले सुने अनुसार गुरुले दीपेन्द्रलाई छुट्टै कोठामा लगेर केही कुरा गर्नुभएको थियो। यी कुरा पूजा सकिए पछाडि भएका हुन्। 

बाहिर जति नै जे-जे हल्ला भए पनि त्यो घटनाको मुख्य कारण आमा-छोराको झगडा नै हो। एक जना महिलासँग विवाहको कुरा फाइनल नै भइसकेको थियो। त्यो कुरा के कारणले रोकियो, त्यो त मलाई थाहा भएन। तर विवाहको कुराले बडामहारानी र युवराज सरकारबीच ठूलै फाटो थियो। रानी ऐश्वर्य र दीपेन्द्रको डेढ वर्ष अगाडिदेखि बोलचाल समेत बन्द थियो।

दरबारको द्वन्द्व धेरै लामो समयदेखि नै थियो। मुख्य कुरा विवाहकै कारण द्वन्द्व भएको थाहा पाएको छु। मेलै बुझेअनुसार जेठ २० गते दीपेन्द्रको विवाह नागार्जुनबाट हुने भन्ने समेत हल्ला थियो। 

त्यस घटनाले दीपेन्द्रसँग विवाह हुने भनिएकी दुलहीको मात्र दुर्भाग्य भएन। त्यो त राजपरिवारकै दुर्भाग्य भयो। विवाहको आगोले परिवार नै सखाप बनायो। यो मुलुकको अहिलेको परिस्थिति हेर्दा त्यो संस्था सकिनु नै नेपालीको दुर्भाग्य जस्तो मलाई लाग्छ। 

मानिस भनेको त प्रकृतिको नियम अनुसार नै मर्छ। पृथ्वीनारायण शाहदेखि कति-कति सुधारवादी श्री ३ महाराज र श्री ५ पनि भए होलान्। राजा महेन्द्रजस्तो मान्छे छिट्टै बिते। तर वीरेन्द्रको मृत्यु नेपालीको लागि ठूलो दुर्भाग्य भएको मलाई लाग्छ। 

०००
त्यो दिन म अफिस छुटेपछि घर आएँ। घर आएको केही बेरमा दरबारमा गोली चल्यो र राजपरिवार नै सकिए रे भन्ने खबर पुग्यो। सायद घटनाको आधा घण्टा पनि नपुगी म दरबार पुगेको थिएँ। त्यस दिन पकनाजोलको आफ्नो घरबाट हिँडेर नै दरबार पुगेको अहिले पनि सम्झन्छु। 

खबर भएर दौडादौड गरेर दरबार पुग्ने कतिको मोटर चेक गरेर रोकियो भन्ने सुनेँ। म त हिँडेरै गएको थिएँ। ढोकामा मलाई देख्ने बितिक्कै ‘भित्र जानुहोस् सर’ भनेर पठाए। 

म त्यहाँ पुग्दा गोली लागेर घाइते भएकालाई अस्पताल लगिसकिएको रहेछ। हामीलाई त्यति बेला भएको चिन्ता भनेको ज्ञानेन्द्र सरकारलाई कसरी पोखराबाट काठमाडौं सवारी गराउने भन्ने भयो।

त्यस दिन प्रकृति नै रोएको भान हुन्थ्यो। झमझम पानी परेकाले हेलिकोप्टरबाट ज्ञानेन्द्र सरकारलाई पोखराबाट ल्याउने प्रयास सफल हुन सकेन। 

हामीले आर्मीसँग समन्वय गरेर काठमाडौंबाट उडेको हेलिकोप्टर गजुरी ब्यारेकमा ल्याण्ड गर्ने र मोटरबाट सवारी चलाउने भन्यौँ। हामीले सोचे जसरी नै पोखराबाट गजुरी ब्यारेकसम्म गाडीमा ज्ञानेन्द्र सरकारको सवारी भयो र गजुरीबाट आएको हेलिकोप्टरमा बिहान ४ बजे छाउनीस्थित आर्मीको ग्राउन्डमा ल्याण्ड भएको थियो।

त्यहाँको घटना आर्मीले जिम्मा लिइसकेकाले बाहिरको जो पनि त्यहाँ जान पाउने अनुमति हुने कुरै भएन। 

०००
राजा वीरेन्द्र एकदमै शालिन स्वभावको हुनुहुन्थ्यो। राजाको मुख्य काम तत्कालीन नेताहरूसँग छलफल गर्दा जुनसुकै नेतासँग कुरा गर्दा पनि आफ्ना कुरा राख्ने, म बुझौलाँ, हेरौलाँ भन्नु हुन्थ्यो। मनमा जे भए पनि कसैलाई पेलेर चित्त दुखाएको मैले देखेको छैन। उहाँ कसैको कुरामा पनि ‘कमेन्ट’ गर्नु हुन्नथ्यो। बरु कमेन्ट गर्ने कुरामा बडामहारानी आफूलाई चित्त नबुझेको कुरा फ्याट्ट भनिहाल्नु हुन्थ्यो।

नामुद सुटर थिए दीपेन्द्र
बाहिर त्यहाँ कसरी हतियार गयो भनेर चर्चा थियो। तर दीपेन्द्र त आफैं सेनाको तालिमप्राप्त हुनुहुन्थ्यो। अर्को कुरा तत्कालीन हुनेवाला राजालाई उहाँले मलाई यो हतियार दे भन्दा ‘हुन्न सरकार’ भन्ने तागत कोहीसँग थियो र त्यो बेलामा?

जहिले पनि दीपेन्द्र सरकारको बाहिर सवारी हुँदा मोटरमा तीन वटा हतियार हुन्थ्यो। माओवादी द्वन्द्व सुरु भएपछि बाहिर सवारी हुँदा उहाँसँग हतियार छुट्दैनथ्यो।

उहाँ एकदमै नामी ‘सुटर’ हुनुहुन्थ्यो। सानै उमेरदेखि नै ‘लौ हेर, म पछाडिबाटै ऊ त्यो मलेवा झारिदिन्छु भन्नुहुन्थ्यो। र, झार्नु पनि हुन्थ्यो।

एउटा म आफैंले देखेको घटना सम्झन्छु। उहाँ १० वर्षको हुँदा एक पटक बर्दिया सिकार खेल्न जानुभएको थियो। संयोगले त्यो बेला म पनि सँगै थिएँ। न्याउरी मुसो भर्खरै जन्मिएको हरिणको बच्चा खान आउँदै रहेछ। न्याउरीले हरिणको सानो बच्चालाई के समाएको मात्र थियो। उहाँ पाँचौँ हात्तीमा भएको मान्छेले माउतेलाई रोकरोक भन्दै न्याउरीलाई आफ्नो गोलीले उडाउनु भएको थियो। पछि त्यो न्याउरीको छाला काढेर क्याम्पमा सुकाइएको थियो।

उहाँ सवारी भएको हात्तीको डरले माउ हरिण भाग्यो। त्यो बच्चालाई केही दिन क्याम्पमा राखेर गाईको दूध खुवाएर पाल्यौँ र बर्दियाको ठाकुरद्वाराको आरक्षणमा छाडिएको थियो। यो घटना २०३८ सालको हो। 

उहाँ दस वर्षको उमेरदेखि नै नामुद सुटर हुनुहुन्थ्यो। अझ देब्रे हात छिटो चल्थ्यो। सुटर भएको कारणले नै कहिल्यै पनि हतियार छुट्दैनथ्यो। 

०००
मानिसहरू ज्ञानेन्द्रले दरबारमा हत्याकाण्ड चलायो भन्छन्। तर मलाई त्यो राजनीतिक माहोल ‘डाइभर्ट’ गरेको हो जस्तो लाग्छ। उक्त घटनामा ज्ञानेन्द्रको हात छैन जस्तो मलाई लाग्छ। ज्ञानेन्द्र र दरबारको सम्बन्ध राम्रै थियो। 

तोकिएको जतिमात्रै खर्च गर्ने राजा
दरबारभित्रका धेरै निर्णय बडामहारानीले नै गर्नु हुन्थ्यो। तर उहाँ आर्थिक रूपमा कडा मिजासकै हुनुहुन्थ्यो।

२०४३ सालतिर राजाले वार्षिक ४८ लाख रुपैयाँ खर्च पाउनुहुन्थ्यो। मरिचमान उपप्रधानमन्त्री भएपछि ४८ लाख राजाले पाउने निर्णय भएको थियो। त्यो पैसा बढाउन बडामहारानीले २०५७ सालसम्म कोशिस गर्नुभएको थियो। तर महाराजधिराज भने आफूसँग भएको स्रोत नै प्रयोग गर्न जोड दिनुहुन्थ्यो। राजा नै राज्यको पैसा धेरै खर्च गर्नहुन्न भन्नुहुन्थ्यो। 

हुन त राजपरिवारको आयस्रोतको रूपमा गोकर्ण रिसोर्ट, कमलादीको कम्प्लेक्स लगायतका ठाउँ थिए। ती सम्पत्ति अहिले राज्यले लिएको छ। त्यहींबाट आएको आम्दानी राजारानीको खर्चको स्रोत थियो। राजाले नै त्यो बेला राज्यको पैसा धेरै चाहिँदैन भनेर तलब बढाउन रोक्नुभएको थियो।
 
मलाई थाहा भएसम्म मन्दिर लगायतका स्थानमा भेटी चढाउन जाँदा पनि तोकिएकोभन्दा बढी खर्च गर्नुहुन्न भन्नुहुन्थ्यो राजा। आर्थिक रूपमा महाराजाधिराज निकै नै सोचेरै खर्च गर्नुहुन्थ्यो। तर अहिलेको नेताको बारेमा सुन्दा मन नै अमिलो भएर आउँछ। 

शुक्रबारमा हुने त्यो भोज
राजपरिवारमा शुक्रबार सधैं भोज आयोजना हुने गर्थ्यो। बडामहारानी उक्त भोजको आयोजक। तर त्यो भोज आफन्तकोमा प्रत्येक शुक्रबार पालो मिलाएर हुन्थ्यो।

उक्त भोजमा ‘योङ ट्याव’ हरूका लागि छुट्टै बस्ने ठाउँ हुन्थ्यो। एक आपसमा होहल्लाको माहोल हुन्थ्यो भने महाराजधिराज र बडामहारानी सहभागी हुने भोज अत्यन्तै शिष्ट हुन्थ्यो।

त्यो बेला तीन जना मुमा शाकाहारी हुनुहुन्थ्यो। त्यसमध्ये रत्न त अहिले पनि जीवितै नै हुनुहुन्छ। उहाँहरूको खाना बनाउने भान्सेदेखि सर्भ गर्ने ‘ब्वाई’ समेत बेग्लै थिए। बस्ने कोठासमेत छुट्टै नै थियो। 

त्यही भोजमा नै गोली चलेर राजपरिवारको अन्त्य भएको थियो। बडामहारानीले नै उक्त भोजको आयोजना गर्ने भएकोले बाहिरको मानिस आएर त्यो घटना घट्यो होला कसरी भनौँ? सायद बडामहारानी र युवराजको झगडाले नै त्यो रूप लिएको हुनसक्छ।

जेठ १९, २०७८ बुधबार २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।