लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु, विपक्षीले मागे मुख्यमन्त्रीको राजीनामा

अधिवेशनको पहिलो बैठकमै विपक्षी दलका प्रदेशसभा सदस्यले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन्। सरकार अल्पमतमा रहेको दाबी गर्दै विपक्षी दलका नेताले मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका हुन्।
संसद्लाई छलेर मुख्यमन्त्री पोखरेलको नेतृत्वमा अल्पमतको सरकार गठन गरिएको उनीहरुले आपत्ति जनाएका थिए।
तर, सत्ता पक्षका नेताले अहिलेको अवस्थामा मुख्यमन्त्री पोखरेलको राजीनामाको प्रसंग आवश्यक नरहेको जिकिर गर्दै प्रदेशको समृद्धि र विकासका लागि राजनीतिक सहमति, सहकार्य र समन्वयका लागि प्रदेश सरकार तयार रहेको बताएका थिए।
बैठकमा नेकपा एमालेका लिला गिरी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खान, नेकपा माओवादी केन्द्रका सुदर्शन बराल, जनता समाजवादी पार्टी (जसपा)का सहसराम यादव, राष्ट्रिय जनमोर्चाका तारा जिसीलगायतले आफ्नो धारणा राखेका थिए।
सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा ८३ प्रदेशसभा सदस्यमध्ये ४२ मत विपक्षी गठबन्धनको उम्मेदवारलाई परेको थियो भने एमालेका उम्मेदवारले ४० मत ल्याएका थिए। निर्वाचनमा १ मत बदर भएको थियो।
प्रदेशसभामा एमालेका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका १९ (सभामुखसहित), अदालतको अल्पकालीन अन्तरिम आदेशबाट पद पाएका जसपा ४ जनासहित ६ र राजमोका १ सांसद छन्।
जेठ १९, २०७८ बुधबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।