राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

पाण्डेयले ५ सय २८ मतभारको अन्तरले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाण्डेयले ४ हजार १ सय ४० मतभार पाउँदा खड्काले ३ हजार ६ सय १२ मतभार पाएका छन्। जसमा पाण्डेयले स्थानीय तहतर्फ २ हजार १ सय २४ र प्रदेशतर्फ २ हजार १६ मतभार पाएका छन्। यस्तै, खड्काले स्थानीय तहतर्फ १ हजार ६ सय ९२ र प्रदेशतर्फ १ हजार ९ सय २० मतभार पाएका छन्।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ १ सय १८ जनाको मत पाउँदा भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन्। 

एक प्रदेशसभा सांसद्को मतभार ४८ छ भने एक स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ छ। 

उपनिर्वाचनमा पाण्डेयलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल समूहको समर्थन रहँदा खड्कालाई नेकपा एमाले, जसपाका महन्त ठाकुर समूह लगायतको समर्थन थियो। 

पाण्डेय यसअघि प्रदेशसभा सदस्य थिए। एमालेबाट प्रदेशसभामा निर्वाचित भएपछि पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए। 

तीन सय मतदाता रहेको उपनिर्वाचनमा प्रदेशसभातर्फ ८३ र स्थानीय तहतर्फ २ सय १३ जना गरी २ सय ९६ जनाले मतदान गरेका थिए। तीमध्ये दुई जनाको मत बदर भएको थियो। मतदानमा स्थानीय तहतर्फका ४ जना मतदानमा सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दाङको घोराहीस्थित तीन वटा केन्द्रमा बिहान ९ बजे सुरु भएको मतदान दिउँसाे ३ बजे सकिएको थियो। 

जेठ १७, २०७८ सोमबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।