सुदूरपश्चिममा नेपाल पक्षका ६ मन्त्री र सचेतकलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश कमिटीको सिफारिस

प्रदेश कमिटीले भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामीलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो।
उनीहरुले प्रदेश कमिटीले सोधेको स्पष्टीकरणको जवाफ नबुझाएपछि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रलाई सिफारिस गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले बताए।
‘हामीले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेका थियौ। तर, उक्त अवधिमा कुनै जवाफ नआएपछि हामीले कारबाहीको लागि सिफारिस गरेका छौं,’ प्रदेश अध्यक्ष थापाले भने, ‘अब बस्ने स्थायी समितिको बैठकबाट उनीहरुमाथि कारबाही हुन्छ।’
कारबाहीको सिफारिस गरिएका सबै माधवकुमार नेपाल पक्षका हुन्।
पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै प्रदेश कमिटीले गत शुक्रबार नियुक्त भएका ३ मन्त्री र ३ राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको थियो। यस्तै, नवनियुक्त सचेतक कामीलाई जिम्मेवारी किन लिएको भन्दै स्पष्टीकरण सोधिएको थियो।
एमाले प्रदेश कमिटीले यसअघि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई साधारण सदस्यबाट समेत निष्कासित गर्न केन्द्रलाई सिफारिस गरिसकेको छ। यी तीन जना पनि नेपाल पक्षकै हुन्।
जेठ १७, २०७८ सोमबार १४:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।