बजेटका प्राविधिक पक्ष शङ्कास्पद छन् : अर्थविद् प्याकुरेल

काठमाडौँ : अर्थविद् विश्वम्भर प्याकुरेलले सबै क्षेत्रलाई खुसी पार्ने गरी सरकारले बजेट ल्याएको प्रतिक्रिया दिएका छन्। उनले काम चलाऊ सरकारले पूर्ण आकारको बजेट ल्याएको भन्दै बजेट कार्यान्वयन हुनेमा शङ्का व्यक्त गरे।
‘बजेट हेर्दा कुनै पनि क्षेत्र छुटेको देखिँदैन,’अर्थविद् प्याकुरेलले उकेरासँग भने, ‘गरिबलाई परिचय पत्र दिने, निषेधाज्ञा अवधिको बिद्युत् महसुल छुट दिने, वृद्ध भत्ता बढाउने लगायतका सबै क्षेत्रलाई खुसी पार्ने बजेट आएको छ।’
उनले बजेटको स्वामित्व भोलि बन्ने सरकारले दायित्व लिनेमा पनि शङ्का रहेको बताए। प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यही कामचलाउ सरकारको निरन्तरतामै प्रश्न उठिरहेको उनले बताए।
उनले राज्यको ऋण तिर्ने दायित्व बढ्दै गए पनि तथ्याङ्कमा घटेको देखाएको बताए। बजेटका प्राविधिक पक्ष शङ्कास्पद रहेको उनको भनाई छ। ‘विश्व बैङ्कले ४६.६ प्रतिशत भनेको सार्वजनिक ऋण ३७.३ प्रतिशत रहेको भनिएको छ,’ उनले भने,‘बजेटको प्राविधिक पक्ष शङ्कास्पद छन्, केलाएर हेर्नुपर्छ।’
जेठ १५, २०७८ शनिबार १९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।