‍‍‍‍...तर यो संविधान बचाउनै पर्छ

‍‍‍‍...तर यो संविधान बचाउनै पर्छ

अहिले नागरिक अक्सिजन र खोपक पर्खाइमा छन्। सरकार चुनाव भनेर बसेको छ।

अहिलेको आवश्यकता खोप, गरिब जनताको मुखमा माड अनि बन्द भएका उद्योग-धन्दा खुलाएर देशको अर्थतन्त्र बलियो बनाउनुपर्ने हो। तर राज्यको प्राथमिकता के हो, के हो।

२००७ सालभन्दा अगाडिदेखि नै लोकतान्त्रिक संविधानका लागि आन्दोलन हुँदै आए। २००७ सालदेखि २०४६ र २०६२/०६३ मा भएको नेपाली जनताको लामो सङ्घर्षपछि जनताको अधिकार र लोकतन्त्र स्थापना भएको हो। 

राजनीतिक परिवर्तनपछि संविधानको व्यवस्था गर्यौं। लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताको व्यवस्था गरेर कानुनको शासन र संविधानको मर्म अनुसार चल्ने व्यवस्था बनायौं।

जनताबाट चुनिएका जनप्रतिनिधिले संविधान बनाउन दुई-दुई पटक संविधान सभाको चुनाव भयो। 

संविधान सभाबाट सम्पूर्ण देशबासीको प्रतिनिधित्व गराएर लोकतान्त्रिक विधिबाट लोकतान्त्रिक संविधान ल्यायौं। संविधानको मर्म अनुसार चल्ने सङ्घीयता, समानुपातिक समावेशिता, धर्म निरपेक्षता सहितको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था बनायौं।

२०७२ साल असोज ३ गते लोकतान्त्रिक संविधान जारी गर्यौं। जनताले अवसर प्रदान गरेको हुनाले मैले नै राष्ट्रपतिको हैसियतमा लोकतान्त्रिक संविधान जनताको हातमा दिएको थिए। 

गणतान्त्रिक शासन व्यवस्था सुरु भएको १४ वर्ष भएको छ। लोकतान्त्रिक संविधान छ। तर यो संविधानमाथि संविधानको रक्षकबाटै साङ्घातिक आक्रमण भइरहेको छ, एक पटक होइन, पटक-पटक। राष्ट्रपतिको संस्था र प्रधानमन्त्रीबाटै संविधानमा आक्रमण भइरहेको छ। 

संविधानमाथि जुन प्रहार भइरहेको छ। त्यसले सारा संस्थालाई क्षतविक्षत पारेको छ। देश महामारीले आक्रान्त भएको बेलामा चुनावको नौटङ्की भइरहेको छ। विगतमा पनि राजा महेन्द्र र ज्ञानेन्द्रबाट भएको चुनावको नौटङ्की हेरेका हौँ।

प्रतिनिधिसभाको ५ बर्से कार्यकाल रहने संवैधानिक व्यवस्था विपरीत दुई-दुई पटक संसद् विघटन गरिएको छ। प्रधानमन्त्री र राष्ट्रपतिको संस्थाबाट बारबार आक्रमण भइरहेको छ।

यस्ता आक्रमणले लोकतन्त्रको बाटोलाई बिराउँछ। संविधानको सर्वोच्चतालाई नस्वीकारेर साङ्घातिक आक्रमण भएको छ। यो परिस्थिति बुझेर न्यायालयबाट संविधानको मर्म र भावना, संविधानको धारा र उपधाराको पालना गरेर न्याय पाउँछौ भन्ने विश्वास छ।

नेपाली जनताले न्याय पाउँछन्। नेपाली जनताको खुन-पसिनाले सिञ्चित गरेर ल्याएको संविधान बाँचोस्। बाँच्नै पर्छ। सबैको भलो होस्। कसैले उखेल्न नसक्ने गरी जरा बलियो होस् गणतन्त्रको। कामना यही छ।

(कुराकानीमा आधारित) 

जेठ १५, २०७८ शनिबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।