अचाक्ली बढ्यो बजार भाउ : कृत्रिम अभाव देखाएर २५ प्रतिशतसम्म मूल्य वृद्धि

अचाक्ली बढ्यो बजार भाउ : कृत्रिम अभाव देखाएर २५ प्रतिशतसम्म मूल्य वृद्धि

सङ्क्रमण बढेसँगै उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लगाइयो। यसपछिका १० दिनको अवधिमा दैनिक उपभोग्य बस्तुमा १० देखि २५ प्रतिशतसम्म मूल्य बढेका छन्। अत्यावश्यक वस्तुको कालोबजारी र कृत्रिम अभाव उस्तै छ।

सरकारी प्रतिनिधि खाद्यान्न आपूर्तिमा समस्या नरहेको र मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण नभएको  दाबी गर्छन्। तर, खुद्रा व्यापारीहरू कृत्रिम अभाव, कालोबजारी र मुल्यबृद्धिको अवस्था रहेको बताउँछन्।

नेपाल खुद्रा व्यापार सङ्घका पूर्व अध्यक्ष पवित्र कुमार श्रेष्ठ निषेधाज्ञाको समयमा बजारमा दैनिक उपभोग्य सामग्री तेल, दाल, गेडागुडी, चिनी, चामल लगायतका सामग्रीमा. १० देखि २५ प्रतिशतसम्म भाउ बढाएको बताउँछन्। 

उनी पछिल्लो समय दाल तथा गेडागुडीमा २५ रुपैयाँसम्म, चामलमा गुणस्तर अनुसार ५० देखि सयसम्म, चिनीमा कृत्रिम अभाव गराएर १० देखि २८ रुपैयाँसम्म मूल्य बढाइएको बताउँछन्। 

यसरी मूल्य बढ्नुमा मुख्य कारक ठुला व्यापारी भएको श्रेष्ठ बताउँछन्। 

‘आपूर्तिमा समस्या छैन खाद्यान्न पर्याप्त नै छ। तत्कालै अभाव भई हाल्ने अवस्था पनि छैन,’उनी भन्छन्,‘तर,ठुला व्यापारीले मूल्यवृद्धि गर्दा मूल्य बढेको छ। ठुला डिलरले मूल्य बढाएपछि हामीले पनि पुरानो मूल्यमा दिन सक्ने अवस्था रहँदैन । सरकारले गर्ने अनुगमन खुद्रा पसलमा हुन्छ, भाउ बढाउनेसम्म पुग्दैन।’

सङ्कटको समयमा पनि ठुला व्यापारीले भाउ बढाएर हैरान बनाएको उनको भनाई छ।  ‘हामीसँग स्टक भएसम्म भाउ बढ्दैन। हामीसँग सकिएपछि ठुला व्यापारीबाट सामान ल्याउँदा नै बढेर आउने गरेको छ,’उनी प्रश्न गर्छन्,‘हामीले अहिले बेचेको मूल्यमा नै ठुला व्यापारीबाट सामान ल्याउनुपर्ने अवस्था छ। हामीले नै महँगोमा किन्नुपर्ने भएपछि त उपभोक्तालाई उही मूल्यमा कसरी दिन सकिन्छ र?’

पूर्व अध्यक्ष श्रेष्ठ पहिलो लकडाउन अगाडि १ सय ३५ मा बेचेको तेल अहिले २ सय ७४ सम्म पुगिसकेको बताउँछन्। ठुला व्यापारीकै कारण खाने तेलमा सत प्रतिशत मूल्यवृद्धि भएको उनको भनाई छ। 

‘यसको तथ्याङ्क वाणिज्य विभागले राख्नुपर्ने हो। अनुगमन पनि खुद्रा व्यापारीमा मात्रै केन्द्रित छ,’उनी प्रश्न गर्छन्,‘बढाउने डिलर र ठुला व्यापारीसम्म अनुगमन हुन सकेको छैन। जहाँ भाउ बढ्यो त्यहाँ पो अनुगमन गर्नुपर्थ्यो। हामीसँग सोध्दा त ठुला व्यापारीले बढाएपछि हामीले बढाएका हौँ भन्ने सम्म न हो।’ 

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन पछिल्लो समय कोरोनासँग सम्बन्धित औषधिजन्य सामग्री, खाद्यान्न, खाने तेल तथा तरकारीमा अत्यधिक कालोबजारीको हुने गरेको बताउँछन्।

उनी चिनीमा कृत्रिम अभाव गराएर उद्योगीहरूले चिनी आयात गरी ९५ रुपैयाँसम्ममा वृद्धि गरिरहेको बताउँछन्। ‘महामारीमा कृत्रिम अभाव गराएर कालोबजारी भइरहेको छ।

‘यो कालोबजारी मात्र होइन ठगी नै हो,’उनी भन्छन्,‘वाणिज्य विभागले अनुगमन गरिरहेको छ। यसमा स्थानीय सरकारहरूले आफ्नो भूमिका देखाउन सकेनन्। यसले पनि सङ्कटमा मौका खोज्नेहरू सलबलाए।’

नियामक निकाय खाद्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव बारेको स्पष्ट तथ्याङ्क छैन। 

विभागले अनुचित व्यापारिक क्रियाकलापलाई आफूहरूले निरन्तरता अनुगमन गरिरहेको बताउँछन्। विभागका अधिकारी बाहिर सुनिएजस्तो भयावह अवस्था नरहेको दाबी गर्छन्।

विभागका प्रवक्ता शिवराज सेँढाई दैनिक उपभोग्य सामानका विषयमा विभागमा सामान्य अवस्थामा झैँ फाट्टफुट्ट मात्र उजुरी आउने गरेको बताउँछन्। 

‘उजुरी हुँदै नभएको पनि होइन त्यस्तो अचाक्ली पनि छैन। बिशेषगरी स्वास्थ्य सामग्रीका मूल्यका विषयका उजुरी बढी आउने गरेका छन्,’उनी भन्छन्,‘दैनिक उपभोग्य सामग्रीका सम्बन्धमा ठ्याक्कै यति मूल्यवृद्धि भयो भन्ने अवस्था छैन। सामान्य अवस्थामा जस्तै हो।’ 

उनी दैनिक उपभोग्य सामग्रीका आपूर्तिमा समस्या नरहेकाले अभावको अवस्था नरहेको जिकिर गर्छन्। तर बजारमा भाउको अवस्था भने उनले दाबी गरे झैँ देखिएन। 

मन्त्रालय भन्छ,‘अभावको अवस्था छैन’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा पनि आपूर्ति व्यवस्था सहज रहेको दाबी गरेको छ। मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी कृत्रिम अभाव र कालोबजारी हुनुपर्ने अवस्था नआएको बताउँछन्। 

उनी पछिल्लो समय औषधीजन्य बस्तुमा कालोबजारीको गुनासो बढी आउने गरेको बताउँछन्। दैनिक उपभोग्य बस्तुका विषयमा भने त्यस्तो अवस्था नरहेको उनको भनाई छ। 

‘दैनिक उपभोग्य वस्तुमा अभावको अवस्था छैन। आपूर्ति सहज छ,’उनी भन्छन्,‘हामीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मार्फत दैनिक अनुगमन र कारबाही गरिरहेका छौँ।’ 

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार वैशाख २४ सम्ममा १२ हजार ९४४ मेट्रिक टन चामल,१ लख ५० हजार ९ सय ५ मेट्रिक टन आयोडिनयुक्त नुन, ५० हजार ९ सय २३ मेट्रिक टन चिनी र ५ हजार ४७ क्विन्टल गहुँ मौज्दात रहेका छन्। 

तरकारी र कुखुराको मासुमा अचाक्ली मूल्य

पछिल्लो समय तरकारीको मूल्यमा अचाक्ली मूल्य बढेको छ। बजारको मूल्यलाई तुलना गर्दा तरकारीमा १० देखि ३५ रुपैयाँसम्म मूल्य बढेको छ। महर्जन कालीमाटीमा तरकारी हदैसम्म सस्तो तर,ठेला रिक्सा र खुद्रा विक्रेतासम्म आइपुग्दा बेपत्ता भाउ बढेको बताउँछन्।

उनी भन्छ,‘आज बिहानको काउलीको मूल्यलाई उदाहरण मानौँ न। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको प्राङ्गणमा १५ रुपैयाँमा बिक्री गरेको छ। बजारमा आइपुग्दा ५० रुपैयाँसम्ममा बिक्री भएको देखिन्छ।’

उनले आलु एक ढक (५ किलो) को १२० देखि १३० सम्म कालीमाटीमा बिक्री भएकोमा २ सय रुपैयाँसम्ममा खुद्रा पसलमा बिक्री भइरहेको बताउँछन्। त्यस्तै कुखुराको मासु निषेधाज्ञाका कारण उत्पादकले १५० रुपैयाँमा बिक्री गर्न थालेको अवस्था रहेको बताउँछन्। 

‘तर, आजकै बजारको कुरा गर्ने हो भो ३७० रुपैयाँमा बिक्री भइरहेको छ। प्रतिकिलो १७० रुपैयाँसम्म बढी लिने भनेको त कालोबजारी भईरहको छ नि। वास्तवमा यो त ठगी नै हो।’ 

वैशाख २७, २०७८ सोमबार ०७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।