रूपन्देहीमा वैशाख १६ देखि दुई साता निषेधाज्ञा लगाउने तयारी

रूपन्देहीमा वैशाख १६ देखि दुई साता निषेधाज्ञा लगाउने तयारी

भारतसँग सीमा जोडिएको रूपन्देहीमा वैशाख १६ देखि दुई साता (२९ गतेसम्म) निषेधाज्ञा लगाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय, रूपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए।

निषेधाज्ञा लगाउने विषयमा स्थानीय सरोकारवालासँग छलफल भइरहेको प्रशासन कार्यालयले जनाएको छ। यस्तै, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखसँग चरणवद्धरूपमा छलफल गरिरहेका छन्। 

सरकारले पहाडी तथा हिमाली जिल्लामा सक्रिय संक्रमित संख्या दुई सय र काठमाडौं उपत्यका र तराईका जिल्लामा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिएको छ। 

संघ सरकारले कम्तीमा १५ दिन निषेधाज्ञा लगाउन भनेको छ।

निषेधाज्ञा लगाए पनि बाहिरी जिल्ला प्रवेशका लागि रूपन्देही आउनलाई त्यहाँ जान दिइने गरी तयारी गरिएको रूपन्देही प्रशासनले जनाएको छ। 

रूपन्देहीमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ। सोमबार २ सय ६३ जना थपिएसँगै रूपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको हो, जसमध्ये सबैभन्दा धेरै बुटवलमा छन्। 

रूपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको छ।

वैशाख १४, २०७८ मंगलबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।