मलेसियाले अन्तिम ओभरमा ७ रन बनाउन नसकेपछि...

मलेसियाले अन्तिम ओभरमा ७ रन बनाउन नसकेपछि...

काठमाडौं : त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत लिग चरणको आफ्नो तेस्रो खेलमा मलेसियाले नेदरल्यान्ड्सविरुद्ध जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो। 

खेलको ९ ओभर सकिँदा मलेसियाकाे स्काेर थियाे ३ विकेटको नोक्सानीमा ८५ रन। अर्थात् उसलाई अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक थियो। 

स्ट्राइकमा थिए मलेसियाका साफिक सारिफ। उनी अघिल्लो ओभरमा मैदान प्रवेश गरेका थिए। 

यता नेदरल्यान्ड्सले भिभिआन किंग्मालाई बलिङको जिम्मेवारी सुम्पियो। खेलको दोस्रो ओभर बलिङ गर्ने जिम्मेवारी पाएका थिए उनले। आफ्नो पहिलोे ओभरमा १४ रन खर्चिएका उनीमाथि कप्तानले भरोसा जताए। 

खेलको अन्तिम ओभर बलिङ गर्न आएका किंग्माले पहिलो बल वाइट फाले। अर्काे बलमा किंग्माले १ रन मात्रै दिए। उनको बललाई स्क्वायरको दिशातर्फ पठाउँदै सारिफले १ रन लिए। र, अमिनुद्धिन रावम्लीलाई स्ट्राइक दिए। किंग्माले बल पुनः वाइड फाले। 

अब मलेसियालाई ५ बलमा ४ रन मात्रै आवश्यक थियो। 

ओभरको दोस्रो बलमा किंग्माले रन दिएनन्। तेस्रो बलमा किंग्माले १ रन मात्रै दिए। राम्लीले बललाई कभरको दिशातर्फ पठाउँदै रन लिए। त्यसपछि स्ट्राइकमा पुनः सारिफ आए। उनले ओभरको चौथो बललाई अनसाइडको दिशातर्फ प्रहार गर्दै १ रन लिए। 

मलेसियालाई अब जितका लागि २ बलमा २ रन मात्रै आवश्यक थियो। 

स्ट्राइकमा थिए राम्ली। खेलको पाँचौं बलमा रन बनाउने प्रयासमा उनी एलबिडब्ल्युको सिकार हुँदै पेवेलियन फर्किए। र, खेलको अन्तिम बल खेल्न मैदान प्रवेश गरे, एस मुनिआन्डी। स्ट्राइकमा मुनिआन्डी नै थिए। 

मलेसियालाई जितका लागि अन्तिम बलमा २ रन आवश्यक थियो। तर, मुनिआन्डीले बल प्रहार गर्न सकेनन्। तैपनि रन दौडिए। र, वाईका रूपमा १ रन पाए। 

मलेसियाको स्कोर भयो ४ विकेटको नोक्सानीमा ९१ रन। अर्थात् मलेसियाले जितका लागि पाएको ९२ रनको लक्ष्य पूरा गर्न सकेन। र, खेल बराबरी भयो। यससँगै मलेसियाको प्रतियोगितामा फाइनल पुग्ने यात्रा पनि टुंगियो।  

००० 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको नेदरल्यान्ड्सले १३ ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। 

वर्षापछि पुनः सुरु भएको खेलमा मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो।  

वैशाख ८, २०७८ बुधबार १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।