उपनिर्वाचन कहिले ? आयोगको सुझाव– असार वा असोजमा

उपनिर्वाचन कहिले ? आयोगको सुझाव– असार वा असोजमा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रियसभा सदस्य पद गुमेसँगै सरकारले उपनिर्वाचनको तयारी थालेको छ।

राष्ट्रियसभामा सदस्य पद रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गराउनुपर्ने बाध्यकारी व्यवस्थासँगै सरकारले प्रतिनिधिसभा र प्रदेशसभातर्फ रिक्त रहेका पदमा समेत उपनिर्वाचनको तयारी थालेको हो।  

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया उपनिर्वाचनको मिति घोषणा भइनसके पनि आयोग तयारी अवस्थामा नै रहेको बताउँछन्।

‘आयोगको काम नै निर्वाचन गराउने हो। हामी सधैं तयारी अवस्थामा नै छौँ। जुनसुकै दिन पनि निर्वाचन सम्पन्न गर्न सक्नेगरी तयारी अवस्थामा छौँ,’ उनी भन्छन्, ‘हामीले मतादाता नामावली संकलनको काम सकाएका छौँ। १४ र १५ स्थानमा उपनिर्वाचन गराउनुपर्ने अनौपचारिक जानकारी आएको छ। तर, आयोगलाई सबै स्थान बारेको रिर्पोटिङ भइसकेको छैन।’

निर्वाचन हुनसक्ने क्षेत्रमा कति मतदान केन्द्र छन्। कति मतदाता छन्। मतदान स्थल कति छन् जस्ता विषयमा आयोगले प्रारम्भिक कार्य भइरहेको आयोगले जनाएको छ। आयोगले औपचारिक रुपमा जानकारी आएका स्थानको निर्वाचन सम्बन्धी विवरण माग गरिसकिएको जानकारी दिएको छ।  

राष्ट्रियसभाको उपनिर्वाचनका लागि जेठ पहिलो साता उपयुक्त हुने सुझाव सरकारलाई गराएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभातर्फ असारको १५ अगाडि या असोजमा निर्वाचन उपयुक्त हुने सुझाव सरकारलाई गराइने उनको भनाइ छ।

‘राष्ट्रियसभाका लागि आजभोलि नै भनेको अवपस्थामा कम्तीमा ३२ दिन र प्रतिनिधिसभाका लागि ९० दिनसम्मको समय लाग्छ,’ थपलिया भन्छन्, ‘अहिलेको अवस्थामा आजभोलि नै गरियो भने प्रतिनिधिसभातर्फ पनि ६० दिनभित्र जनप्रतिनिधि चुनेर पठाउने व्यवस्था गर्न सक्छौँ। सरकारसँग परामर्श गरेर निर्वाचनको मिति तोक्छौँ। 

‘राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५’ को दफा ६१ मा सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै पद रिक्त भएमा रिक्त भएको स्थानमा ३५ दिनभित्र सरकारले तोकेको मितिभित्र उपनिर्वाचन गराइसक्नुपर्ने व्यवस्था छ। तर, प्रतिनिधिसभा र प्रदेशसभातर्फको समयसीमाबारे स्पष्ट व्यवस्था छैन। 

आयोगलाई १० स्थान रिक्त रहेको जानकारी 

आयोगमा हालसम्म १० स्थानमा सांसद पद रिक्त रहेको जानकारी आएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार हालसम्म १ राष्ट्रिय सभा सदस्य, ४ प्रतिनिधिसभा सांसद र ५ प्रदेश सांसद पद रिक्त रहेको जानकारी आएको छ।

संघीय संसद सचिवालयले आयोगलाई गराएको जानकारी अनुसार राष्ट्रिय सभा सदस्य रामबहादुर थापा, प्रतिनिधिसभा सदस्यतर्फ अर्घाखाँची–१ का टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु शाह र कैलाली–३ का गौरीशंकर चौधरीको स्थान रिक्त छन्। 

त्यस्तै, प्रदेश २ प्रदेशसभा सचिवालयले धनुषा–१ (२) कारामचन्द्र मण्डल, बारा–३ (१) का ज्वालाकुमारी शाह, रौतहट–३ (२) का कुन्दनप्रसाद कुशवाह र समानुपातिकतर्फ मोहम्मद समिमको पद रिक्त रहेको जानकारी गराएको छ।

प्रदेश १ तर्फ ताप्लेजुङ–१ (१) का टंक आङबुहाङको पद रिक्त रहेको जानकारी आयोगमा आएको श्रेष्ठले जानकारी दिए।

वैशाख ७, २०७८ मंगलबार २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।