शङ्कर पोखरेललाई साथ दिने जसपाका चार सांसदको पद धरापमा

काठमाडौँ : अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दागर्दै लुम्बिनी प्रदेशको मन्त्री बनेका जनता समाजवादी पार्टीका चार सांसदलाई राजपा संसदीय दलले स्पष्टीकरण सोधेको छ। दलका नेता सहसराम नेपालले पठाएको पत्रमा २४ घण्टाको समय दिँदै दलको निर्णय किन उलङ्घन गरेको हो सो खुलाउन निर्देशन दिइएको छ।
पत्रमा ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेश मन्त्रिपरिषद्प्रति विश्वास छैन भनी अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समितिको चैत २६ को निर्णय र जसपा लुम्बिनी प्रदेश सभा संसदीय दलले वैशाख ६ गते गरेको’ उल्लेख गर्दै दलको तर्फबाट ह्विप जारी गरेको उल्लेख छ।
दलको ह्विप जारी गरेको थाहा हुँदाहुँदै यस विपरीत मुख्यमन्त्री पोखरेलै नेतृत्वको मन्त्रिपरिषद् सदस्यमा शपथ ग्रहण गरेर ह्विप उलङ्घन गरेको उल्लेख गर्दै पत्रमा दलको ह्विप किन उलङ्घन गरेको ? प्रचलित कानुन र संसदीय दलको विधान विपरीत अर्को संसदीय दलको गठन केको आधारमा गरेको भनेर प्रश्न सोधिएको छ।
पत्रमा पत्र प्राप्त भएको मितिले २४ घण्टामा उचित स्पष्टीकरण दिन निर्देशन दिइएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाविच मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति अनुसार सोमबार ४१ जना सांसदको हस्ताक्षर सहित अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
उनीहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि जसपाका सांसद सन्तोष पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले नेकपा एमालेसँग सहमति गर्दै मन्त्री बनेका थिए।
वैशाख ७, २०७८ मंगलबार २०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।