नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं : त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखलाकाे आफ्नाे तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज (मंगलबार) सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो।
२ सय ७ रन पछ्याउँदै ब्याटिङ थालेको नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्याे। उसका लागि बास डे लिडेले अविजित रहँदै ८१ रन जोडे। यस्तै, बेन कपरले ५५, पिटर सीलारले ३१ र टोबिआस भिसीले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।
बलिङमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। यस्तै, कुशल मल्ल, अविनास बोहरा र करन केसीले समान १ खेलाडीलाई पेवेलियन फर्काए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन जोडेको थियो।
नेपालका लागि कुशलले सर्वाधिक ६२ रन जोड्दा दीपेन्द्रले ६० रन बनाएका थिए। यस्तै, सोमपाल कामी २१ रनमा अविजित रहँदा ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान दिएका थिए।
बलिङमा नेदरल्यान्ड्सका पिटर सिलार, भिभिन किंगमाले समान २ तथा वास डे लिडे र आर्यन दत्तले १÷१ विकेट लिएका थिए।
जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो। यसअघि नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले पराजित गरेको थियो।
नेदरल्यान्ड्सको भने जारी प्रतियोगितामा लगातार दोस्रो जित हो। यसअघि आफ्नो पहिलो खेलमा नेपालसँग ९ रनले पराजित नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो।
वैशाख ७, २०७८ मंगलबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।