नेपालमा कतारी रियाल वैशाख २७ पछि सटही नहुने 

नेपालमा कतारी रियाल वैशाख २७ पछि सटही नहुने 

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आफूसँग भएका कतारी रियाल बैंक नोटहरू सटही गर्न सूचना जारी गरेको छ।

कतारको केन्द्रीय बैंकले निष्कासन गरेका हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल बैंक नोटहरू सटही गर्न राष्ट्र बैंकले सूचना जारी गरेको हो। 

कतारले सन् २०२१ जुलाई १ पछि यी नोटहरू चलनचल्तीबाट हटाउने निर्णय गरेको हुँदा आफूसँग भएका त्यस्ता नोटहरू यही वैशाख २७ गतेभित्र सटही गरिसक्न बैंकले अनुरोध गरेको छ।

राष्ट्र बैंकको बैङ्किङ विभाग, बैङ्किङ कारोबार गर्ने बैंकका प्रदेशस्थित कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरहरुबाट सटही गर्न गराउन भनेको हो।

२०७८ वैशाख २७ गतेपछि त्यस्ता नोटहरू सटही गर्न बाध्य नहुने समेत राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका उपनिर्देशक मनोहर सिवाकोटीले बताए।

सिवाकोटीले नेपालमा कति मात्रामा कतारी रियाल बैंक नोटहरू रहेको भन्ने तथ्याङ्क भने अहिले नभएको बताए। उनले विदेश गएर फर्केका नेपालीसँग यस्ता नोटहरू हुन सक्ने बताए। 

वैशाख ७, २०७८ मंगलबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।