त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखला : नेपालको लगातार दोस्रो जित 

त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखला : नेपालको लगातार दोस्रो जित 
फाइल तस्बिर।

काठमाडौं : त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज (सोमबार) सम्पन्न खेलमा मलेसियालाई ९ विकेटले हराएपछि नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो। यसअघि शनिबार नेपालले नेदरल्यान्ड्सलाई पनि ९ विकेटले पराजित गरेको थियो। 

नेपालले जितका लागि पछ्याएको १ सय १० रनको लक्ष्य १२.१ ओभरमै पूरा गर्याे। नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी गरेपछि नेपालले सहजै जित हासिल गरेको हो। 

नेपालका लागि सर्वाधिक रन जोडेका भुर्तेल ६१ रनमा अविजित रहे। ४१ बल खेलेका उनले आफ्नो पारीमा ३ चौका र ५ छक्का प्रहार गरे। जारी प्रतियोगितामा भुर्तेलको यो लगातार दोस्रो अर्धशतक हो। 

यस्तै, शेखले ४२ रन जोडे। २९ बल खेलेका उनले आफ्नो पारीमा ४ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ६ रन बनाए।  

मलेसियाका लागि एक मात्र विकेट विरेन्दीप सिंहले लिए। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा १ सय ९ रनमा अलआउट भएको थियो। 

उसका लागि शेयद ऐजाजले सर्वाधिक २७ रन जोड्दा सार्भिन मुनिएन्डीले २० र साफिक सरिफले १५ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेका थिएनन्। 

बलिङमा नेपालका करन केसीले ३ विकेट लिएका थिए। यस्तै, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, साहब आलम, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १ खेलाडीलाई पेवेलियन फर्काएका थिए। 

जारी प्रतियोगितामा मलेसियाको यो लगातार दोस्रो हार हो। यसअघि मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो। 
 

वैशाख ६, २०७८ सोमबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।