प्रदेश २ को नाम र राजधानीबारे जसपा र माओवादी केन्द्रको एउटै प्रस्ताव 

प्रदेश २ को नाम र राजधानीबारे जसपा र माओवादी केन्द्रको एउटै प्रस्ताव 

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेश २ को नाम र स्थायी राजधानीबारे एउटै प्रस्ताव दर्ता गराएका छन्। 

दुवै दलले आज (आइतबार) प्रदेशसभामा छुट्टाछुट्टै रूपमा प्रस्ताव दर्ता गराएका हुन्। 

जसपाका सांसद् उपेन्द्र महतोले पार्टीले प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्ताव गरेको जानकारी दिए। 

जसपाको तर्फबाट प्रदेशको नामको प्रस्तावकमा शैलेन्द्र यादव छन् भने समर्थकमा बबिताकुमारी र रानी शर्मा तिवारी छन्। 

‘प्रदेशसभा सचिवालयले वैशाख ९ गतेभित्र प्रदेशको नाम र राजधानीबारे प्रस्ताव गर्न दललाई आह्वान गरेपछि हामीले प्रस्ताव दर्ता गराएका हौं,’ महतोले भने। 

माओवादी केन्द्रका प्रदेश सांसद् दिलिपकुमार शाहले पार्टीको तर्फबाट प्रदेशको नाम ‘मधेस’ राख्न प्रस्ताव गरिएको जानकारी दिए। 

प्रदेश राजधानीबारे पनि दुवै दलको प्रस्ताव लगभग मिल्दोजुल्दो छ। 

जसपाले स्थायी राजधानीका लागि जनकपुरधाम शहरी क्षेत्रसहित उत्तरमा पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा मार्ग क्षेत्रलाई प्रदेश राजधानीका रूपमा प्रस्ताव गरेको छ। 

राजधानीका लागि जसपाको तर्फबाट परमेश्वर साहले प्रस्ताव गरेका छन्। उनको प्रस्तावलाई चमेलीदेवी दास, सन्चमाया मोक्तान र निरा साहले समर्थन गरेका छन्। 

माओवादी केन्द्रले भने जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रूपमा प्रस्ताव गरेको छ। उक्त प्रस्तावको प्रस्तावकमा भरतप्रसाद साह रहँदा जगतप्रसाद यादव र दिलीप साहले समर्थन गरेका छन्।  

प्रदेशसभा सचिवालयले दुई दिनअघि वैशाख ९ गतेभित्र प्रदेशको नाम र राजधानीका लागि आ–आफ्नो प्रस्ताव दर्ता गराउन आह्वान गरेको थियो। 

उक्त प्रस्ताव पास गर्न कम्तीमा कूल सांसद् संख्याको दुईतिहाइ मत आवश्यक पर्छ। यसका लागि ६९ सांसद्को सहमति आवश्यक हुन्छ।  

१ सय ३ सिट रहेको प्रदेशसभामा जसपाका ५५ र माओवादी केन्द्रका ७ सांसद् छन्। यस्तै, एमालेको २१, कांग्रेसको १९ र नेपाल संघीय समाजवादी पार्टीको १ सांसद् छन्। यी दलले प्रस्ताव दर्ता गराएका छैनन्। 

वैशाख ५, २०७८ आइतबार २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।