बैंगलोरको लगातार तेस्रो जित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार तेस्रो जित हासिल गरेको छ।
चेन्नईको एमए चिदम्बरम रंगशालामा आज (आइतबार) सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै उसले आइपिएलको जारी सिजनमा लगातार तेस्रो जित हासिल गरेको हो।
२ सय ५ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्रै बनाउन सक्यो। उसका लागि अलराउन्डर आन्द्रे रसलले सर्वाधिक ३१ रन जोडे। यस्तै, इयोन मोर्गनले २९, सकिब अल हसनले २६, राहुल त्रिपाटीले २५, शुभमन गिलले २१ र नितिष राणाले १८ रनको योगदान दिए।
बलिङमा बैंगलोरका केल जेमिसनले ३, युजवेन्द्र चहल र हर्षल पटेलले समान २ विकेट लिए। वासिन्टन सुन्दरको नाममा १ विकेट रह्यो।
त्यसअघि टस जितेर ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो। उसका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७८ रन जोडे। यस्तै, एबी डिभिलियर्स ७६ र केएल जेमिसन ११ रनमा अविजित रहे। देवदत्त पाडिक्कले २५ रन बनाए।
बलिङतर्फ कोलकाताका वरुण चक्रवर्तीले २ तथा प्याट कमिन्स र प्रशिद कृष्णाले समान १ विकेट लिए।
जितसँगै बैंगलोर अंकतालिकामा ६ अंकसहित शीर्ष स्थानमा छ। बैंगलोरसँग समान ३ खेल खेलेको कोलकाता २ अंकसहित छैटौं स्थानमा छ।
आजै हुन लागेको अर्काे खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल प्रतिष्पर्धा गर्दै छन्।
वैशाख ५, २०७८ आइतबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।