त्रिदेशीय टी–ट्वान्टी क्रिकेट : नेदरल्यान्ड्सद्वारा मलेसिया पराजित

काठमाडौं : जारी त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृंखलामा नेदरल्यान्ड्सले मलेसियालाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (आइतबार) सम्पन्न खेलमा उसले मलेसियालाई १५ रनले हराएको हो।
१ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाउन सक्यो।
मलेसियाका लागि विरन्दीप सिंहले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ५३ बलमा समान ६ चौका र छक्काको मद्दतमा ८७ रन बनाए। उनी खेलको १८.४ ओभरमा सेबास्टियन ब्राटको बलमा विसीद्वारा क्याच आउट भए।
मलेसियाका लागि शार्विन मुनियान्डीले २८ र अमिनुद्दीन राम्ली २६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्। उसले अतिरिक्त १३ रन पाएको थियो।
बलिङतर्फ नेदरल्यान्ड्सका लागि आर्यन दत्त, ब्राट र बास डे लिडेले समान २ विकेट लिए। त्यस्तै, फिलिप्पे बोइसेविन र पिटर सिलारको नाममा समान १ विकेट रह्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो।
नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ’डोउडले अविजित रहँदै १ सय ३३ रनको शतकीय पारी खेले। उनले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गरे।
यस्तै, स्कट एडवार्डले ३१ रन बनाउँदा बेन कपर २० रनमा अविजित रहे।
मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले १/१ विकेट लिए।
जितसँगै नेदरल्यान्ड्सले अंकतालिकामा २ खेलमा २ अंक जोडेको छ। यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो।
१ खेल खेलेको मलेसिया भने अंकविहीन छ।
अंकतालिकाको शीर्ष स्थानमा नेपाल छ। उसले १ खेलबाट २ अंक बटुले पनि रनरेटका आधारमा ऊ अघि देखिएको हो।
वैशाख ५, २०७८ आइतबार १८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।