कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता शाहीद्वारा प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा फिर्ता

कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता शाहीद्वारा प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा फिर्ता

प्रदेश सरकारलाई विश्वासको मत दिएपछि कांग्रेस प्रमुख प्रतिपक्षी दल नरहेको भन्दै उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा लिएको गाडी फिर्ता गरेका हुन्। 

संसद् सचिवालयले उनलाई लु.१ झ ४२६ नम्बरको गाडी उपलब्ध गराएको थियो। उक्त गाडी संसद् सचिवालयका कर्मचारीमार्फत फिर्ता गरेको नेता शाहीले जानकारी दिए। 

‘सरकारलाई विश्वासको मत दिइसकेपछि प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले सरकारी सुविधा उपभोग गर्न हुँदैन भन्ने मनसायले आज बिहान गाडीसहित अन्य सेवासुविधा पनि सचिवालयमा फिर्ता गरेको छु,’ नेता शाहीले भने।

कांग्रेस सांसद्ले गत शुक्रबार मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए। 

नेकपा एमालेले गत चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि मुख्यमन्त्री शाहीले गत शुक्रबार विश्वासको मत आर्जन गरेका थिए। 

वैशाख ५, २०७८ आइतबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।