गण्डकी प्रदेश : रोकिएन अविश्वास प्रस्ताव, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्रको नाम प्रस्ताव

काठमाडौँ : आफू विरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले रातारात प्रदेश सभा अन्त्य गरे पनि विपक्षीले अविश्वास प्रस्ताव दर्ता गराएका छन्। रातारात अधिवेशन अन्त्य गरे पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, विपक्षमा रहेको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गराएका छन्।
अविश्वासको प्रस्तावमा काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका २ प्रदेश सांसदले हस्ताक्षर गरेका छन् । पहिला राष्ट्रिय जनमोर्चा समेत प्रदेश सरकारको विपक्षमा उभिन तयार भए पनि उनीहरूले हस्ताक्षर गरेका छैनन्। जनमोर्चाका तीन प्रदेश सांसद छन्।
प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावमा नयाँ मुख्यमन्त्रीको रूपमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।
अविश्वास प्रस्तावमा प्रतिपक्षसँगै सत्ताका सहयात्रीहरूलाई अनवरत रूपमा गरिएको अपमान, उपेक्षाको निर्मम प्रहारले समन्वय र सहमतिको यात्रालाई कमजोर बनाउनेतर्फ सरकार उद्धत रहेको आरोप लगाइएको छ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा भङ्ग गर्ने, संवैधानिक निकाय सम्बन्धलाई समाप्त गर्ने गतिविधिलाई गण्डकी प्रदेश सरकारले सहयोग र समर्थन गरेको, रोष्टममा उभिएर संविधानको शपथ खाएका मन्त्रीले संविधान विरोधी कार्यको वकालत गरेको, नेकपा विभाजित भएर नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र बनी सकेपछि मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महिनाको समय सीमा नाघ्दा समेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गरेको आरोप लगाइएको छ।
उनीहरूले प्रदेश सरकार असंवैधानिक भएको दाबी गर्दै गुरुङको सरकार रहिरहँदा चुनौती र समस्या अझ गम्भीर बन्दै जाने, जनताको अपेक्षा र विश्वास घट्दै जाने अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशको विकास निर्माण र उन्नति कम हुँदै जाने तर्क गर्दै नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्री गुरुङमाथि प्रदेशसभाको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेस गरेका छन्।
वैशाख २, २०७८ बिहीबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।