वैशाख १२ पछि बायोमेट्रिक हाजिरी नमिलेका नेपाली कामदारलाई विमानस्थलबाट फर्काइने 

वैशाख १२ पछि बायोमेट्रिक हाजिरी नमिलेका नेपाली कामदारलाई विमानस्थलबाट फर्काइने 

काठमाडौं : वैदेशिक रोजगार विभागले यही वैशाख १२ गतेदेखि बायोमेट्रिक हाजिरी नमिलेका नेपाली कामदारलाई विमानस्थलबाटै फर्काउने जनाएको छ। 

विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कामदारले विदेश जानुपूर्व अभिमुखीकरण तालिममा गरेकाे बायोमेट्रिक हाजिरी र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा गरेकाे बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काउने जनाएको हो। 

यसअघि विभागले गत चैत १८ गते विज्ञप्ति जारी गर्दै वैशाख १ गतेदेखि यो व्यवस्था लागू गर्ने जनाएको थियो। 

सूचना व्यवस्थापन  प्रणाली (फेमिस)को स्तरोन्नति नसकिएको भन्दै विभागले यो नियम वैशाख १२ गतेपछि मात्रै लागू गर्ने मंगलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। 

विभागले पछिल्लो समय अनिवार्यरूपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने–दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अर्को व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम लिएको पाइएको भन्दैै बायोमेट्रिक हाजिरीमा कडाइ गर्न लागेको हो। 

विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा जाँच गराउँदा आधिकारिक नभएको देखिएको विभागले जनाएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०) मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानुपूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ।

अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार बोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसारको तालिम दिई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा अपडेट गर्नु पर्छ। 

विभागले नक्कली बायोमेट्रिक प्रयोग गर्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने जनाएको छ। यस्तै, बायोमेट्रिक नमिल्दा विदेशबाट श्रम स्वीकृती पुनः पाउन कठिन हुने विभागको भनाइ छ। 

पुनः प्रस्थान अभिमुखीकरण तालिम नलिने वा बायोमेट्रिक नक्कली भएका व्यक्तिले गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानुन तथा अन्य आवश्यक कानुनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयबाट समेत वञ्चित हुने विभागले जनाएको छ। 
 

वैशाख १, २०७८ बुधबार १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।