एएफसी कप प्लेअफ : आर्मीले बैंगलुरुसँग प्रतिष्पर्धा गर्दै 

एएफसी कप प्लेअफ : आर्मीले बैंगलुरुसँग प्रतिष्पर्धा गर्दै 
त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडी। फाइल तस्बिर।

काठमाडौं : एएफसी कप–२०२१ प्लेअफको दोस्रो चरणमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज (बुधबार) भारतको बेंगलुरु फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

गोवास्थित जिएमसी रंगशालामा आर्मीले प्लेअफको दोस्रो चरणमा घरेलु टोली बैंगलुरुको सामना गर्न लागेको हो। उक्त खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

यसअघि पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराउँदै आर्मी दोस्रो चरणमा पुगेको हो। उक्त खेलमा आर्मीले श्रीलंका पुलिसलाई ५–१ ले हराएको थियो। 

बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्लेअफको फाइनल खेल खेल्ने छ।

एएफसीको क्लब लाइसेन्स पाएपछि आर्मीले एएफसी प्रतियोगिता खेलेको हो। 

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लबको एएफसी क्लब लाइसेन्स नहुँदा लिग उपविजेता आर्मीले प्रतियोगिता खेल्ने अवसर पाएको हो। 
 

वैशाख १, २०७८ बुधबार १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।