आगामी आर्थिक वर्षमा अर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले जारी गरेको प्रतिवेदनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण तोकिएको सामाजिक दूरीको मापदण्ड निरन्तर खुकुलो हुनु, कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिनु, कृषिका लागि मनसुन अनुकूल रहनुलगायत कारण आर्थिक वर्ष २०७८/ ७९ मा अर्थतन्त्र बढ्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।
कोभिड–१९ पछिको पर्यटन बजारसँग समाञ्जस्य हुने गरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुनरुत्थान पूर्णरूपमा नहुने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।
आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८/०७९ मा चालु खाता घाटा घट्न गई कूल ग्राहस्थ उत्पादन (जिडिपी) १.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
राजश्व संकलन लक्ष्य अनुसार हुन सक्ने संभावना न्यून भएको र आर्थिक राहतका उपाय, खोप कार्यक्रम र आयोजनाहरू पुनःसञ्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चले आर्थिक वर्ष २०७८/०७९को वित्तीय घाटा बढाएर सो आर्थिक वर्षको कूल ग्राहस्थ उत्पादन (जिडिपी)कोे ७ प्रतिशत नजिक पुर्याउने देखिन्छ।
‘नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर अर्थात करिब ११ खर्ब नेपाली रूपैयाँ बराबर अनुमान गरिएको छ, जुन हाल भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा हो,’ विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा अपडेटका प्रमुख लेखक डा. केने इजेमेनारीले भने, ‘यो निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्त्वपूर्ण प्रभावसहित अनुमानित २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसरको प्रतिनिधित्व गर्छ। मध्यकालीन समयावधिमा यो सम्भाव्य क्षमतालाई हासिल गर्ने कुरा असम्भव पनि छैन।’
प्रतिवेदनमा नेपालको निर्यात क्षमता हासिल गर्नका लागि जोड दिनुपर्ने ६ वटा प्रमुख प्राथमिकता उल्लेख गरिएको छ, जसमा तीव्र र उत्थानशील पुनर्लाभका लागि पर्यटन क्षेत्रमा सुधार गर्ने, अधिक वैदेशिक लगानी (एफडिआई) आकर्षित गर्न प्रक्रिया सरलीकृत र सुव्यवस्थित गर्ने, निर्यात प्रवर्द्धनलाई आधुनिकीकरण र निर्यातकर्ताको क्षमता सुधार गर्ने, व्यापार लागत घटाउने, बोटबिरुवाको स्वास्थ्यसम्बन्धी फाइटोसेनिटरी र गुण नियन्त्रणका पूर्वाधारमा लगानी गर्ने र विश्व मूल्य शृंखलामा जोडिएको अधिक अवसरको लागि डिजिटल व्यापार र इ–वाणिज्यलाई बढावा दिने छन्।
‘हामी नेपालको हरित, उत्थानशील, र समावेशी विकासलाई सहयोग गर्न सरकारले चालेका योजनाबद्ध सुधारका कदमलाई स्वागत गर्छाैं। यस संकटबाट थप बलियो बनेर निस्किनका लागि नेपालका लागि यो एक आधार हुनेछ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद–जर्भोसले भने, ‘यस प्रयासमा हामी, विशेष गरी दिगो र उत्थानशील पुनर्लाभलाई सहयोग पुर्याउन, नेपालको निर्यात सम्भाव्यतालाई हासिल गर्न टेवा पुग्ने लगानीका लागि सरकार र विकास साझेदारहरूसँग निरन्तर सहकार्यको लागि तत्पर छौं।’
विश्व बैंकले ४० वर्षपछि पहिलो पटक आर्थिक वर्ष २०७७/७८ मा अर्थतन्त्र संकुचित भएकोसमेत जनाएको छ।
चैत ३०, २०७७ सोमबार २२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।