माओवादी केन्द्रद्वारा प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ।
माओवादी केन्द्रले आज (सोमबार) दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको हो।
बैठकमा माओवादी केन्द्रको संसदीय दलका नेता एवं अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिएको बताए।
गत पुस १२ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका ३७ जना सांसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, जसको प्रस्तावमा आङ्बो र समर्थकमा राजकुमार राई थिए।
त्यतिबेला दाहाल समूहका १५ र नेपाल समूहका २२ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
तर, सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेको नेपाल समूहका सांसद्ले यही चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए।
माओवादी केन्द्रको संसदीय दलका नेता आङ्बोले भने, ‘अविश्वासको प्रस्तावका लागि हामीसँग प्रदेशसभाको कूल सदस्य संख्याको एक चौथाइ सांसद् पनि छैनन्। त्यसैले प्रस्ताव फिर्ता गरेका हौं।’
९३ सिट रहेको प्रदेशसभामा एमालेका ५१ सांसद् छन्। यस्तै, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५ सांसद् छन्।
यसअघि १६ सांसद् रहेको माओवादी केन्द्रले एक सांसद्लाई कारबाही गरेको हो। माओवादी केन्द्रले एमाले प्रवेश गरेका सांसद् टंक आङबुङलाई कारबाही गरेको हो। कारबाहीसँगै उनको सांसद् पद गुमेको छ। प्रदेशसभामा अन्य साना दलका ५ सांसद् छन्।
प्रदेशसभाकाे अर्काे बैठक चैत २६ गते बस्ने छ।
चैत २३, २०७७ सोमबार १७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।