कर्णाली प्रदेश : एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा दिने तयारी 

कर्णाली प्रदेश : एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा दिने तयारी 
प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढा (बायाँबाट क्रमशः)।

काठमाडौं : कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। 

नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सामूहिक राजीनामा दिने तयारी थालेका हुन्। 

एमालेको कर्णाली प्रदेश संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो। 

आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले राजीनामा दिनका लागि छलफल भइरहेको जानकारी दिए। ‘राजीनामाको विषयमा छलफल भइरहेको छ। छिट्टै राजीनामा दिन्छौं,’ उनले भने। 

यसअघि यही चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

चैत २३, २०७७ सोमबार १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।