माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ।
माओवादी केन्द्रले आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो।
गत पुस १२ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका ३७ जना सांसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, जसमा दाहाल समूहका १५ र नेपाल समूहका २२ जना थिए।
तर, सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेको नेपाल समूहका सांसद्ले यही चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए।
नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आजको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी दिए।
‘अविश्वासको प्रस्तावका लागि हामीसँग प्रदेशसभाको कूल सदस्य संख्याको एक चौथाइ सांसद् पनि छैनन्। त्यसैले प्रस्ताव फिर्ता गर्न लागेका हौं,’ उनले भने।
९३ सिट रहेको प्रदेशसभामा एमालेका ५१ सांसद् छन्। यस्तै, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५ सांसद् छन्। यसअघि १६ सांसद् रहेको माओवादी केन्द्रले एक सांसद्लाई कारबाही गरेको हो। माओवादी केन्द्रले एमाले प्रवेश गरेका सांसद् टंक आङबुङलाई कारबाही गरेको हो। कारबाहीसँगै उनको सांसद् पद गुमेको छ।
प्रदेशसभामा अन्य साना दलका ५ सांसद् छन्।
चैत २३, २०७७ सोमबार १२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।