कांग्रेसलाई क्रियाशील सदस्यको लक्ष्य पुर्याउनै हम्मे

काठमाडौं : नेपाली कांग्रेसलाई लक्ष्य अनुसार क्रियाशील सदस्यको संख्या पुर्याउनै हम्मेहम्मे पर्ने भएकाे छ।
१४ औं राष्ट्रिय महाधिवेशनको कार्यतालिका अनुसार क्रियाशील सदस्यता वितरणको समय बित्दा पनि कांग्रेसले लक्ष्यको झण्डै आधालाई मात्रै सदस्यता वितरण गरेपछि उसलाई लक्ष्य पूरा गर्न हम्मेहम्मे पर्ने देखिएको हो।
कांग्रेसले आगामी महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्यता बनाउने लक्ष्य लिएको थियो। तर, आज (बुधबार) दिउँसो १ बजेसम्म कांग्रेसका नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यको संख्या ४ लाख ७७ हजार २८ जना पुगेको क्रियाशील सदस्यता छानबिन समितिले जनाएको छ।
समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य जीवन परियारका अनुसार बुधबार १ बजेसम्ममा २ लाख २२ हजार ४ सय ५१ नयाँ सदस्यता वितरण र २ लाख ५४ हजार ५ सय ७७ जनाको सदस्यता नवीकरण भएको छ।
महाधिवेशन कार्यतालिका अनुसार चैत १० सम्म नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यको विवरण प्रदेश र जिल्लाबाट केन्द्रमा आइसक्नुपथ्र्यो। तर, अहिलेसम्म पनि सदस्यता वितरण निरन्तर भइरहेको छ।
‘क्रियाशील सदस्यता वितरणको समयावधि थप भइनसकेको भए पनि सदस्यता वितरण भने निरन्तर भइरहेको छ,’ परियारले भने।
समयावधि थप्नेबारे चैत २० मा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने कांग्रेसले जानकारी दिएको छ।
१५१ स्थानबाट सदस्यता इन्ट्री
कांग्रेसले ७७ जिल्ला र १ सय ६५ निर्वाचन क्षेत्र गरी २०७ स्थानबाट सदस्यता इन्ट्रीको व्यवस्था गरेको छ। तर, १ सय ५१ स्थानबाट मात्र इन्ट्री भइरहेको समिति सदस्य परियारको भनाइ छ।
विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाको समायोजन नहुँदालगायत कारणले सदस्यता वितरण सुस्त भएको कांग्रेसको ठहर छ। ‘धेरैजसो स्थानमा विभिन्न बहानामा सदस्यता वितरण सुस्त भइरहेको देखिन्छ,’ समिति सदस्य परियारले भने।
परियारका अनुसार हालसम्म सोलुखुम्बु, सप्तरी, सिरहा, बारा र डोल्पामा सदस्यताको काम सुरु हुन सकेको छैन। प्रदेशगतरूपमा सबै प्रदेशमा सदस्यताको काम भइरहेको उनले जानकारी दिए।
कार्यतालिका प्रभावित हुन सक्ने !
महाधिवेशन कार्यतालिका अनुसार फागुन १५ भित्र समायोजनको काम सम्पन्न भइसक्नुपर्ने, फागुन २८ भित्र वडा, पालिका, निर्वाचन क्षेत्र हुँदै नवीकरणको विवरण जिल्ला कार्यसमितिमा बुझाउनुपर्ने र जिल्ला कार्यसमितिले चैत १० भित्र विवरण केन्द्रमा पठाइसक्नुपर्ने हुन्छ।
तर, जिल्ला समितिले क्रियाशील सदस्यताको विवरण अझै केन्द्रमा नपठाएकाले महाधिवेशन कार्यतालिका प्रभावित हुन सक्ने कतिपय नेताको आँकलन छ।
कार्यतालिका अनुसार केन्द्रमा सदस्यताको विवरण आइसकेपछि समितिमा परेको उजुरी छानबिन गरी २०७८ जेठ २४ भित्र अन्तिम नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने हुन्छ।
सदस्यताको टुंगिएपछि मात्र असार ५ मा वडा अधिवेशन, असार ७ मा पालिका अधिवेशन, साउन १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ६ मा जिल्ला अधिवेशन र साउन १० मा प्रदेश अधिवेशन तोकिएका छन्।
भदौ ७ देखि १० सम्ममा महाधिवेशन गर्ने कांग्रेसकाे कार्यतालिका छ।
चैत १८, २०७७ बुधबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।