प्रदेश १ मा नेपाल समूहका सांसद अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य 

प्रदेश १ मा नेपाल समूहका सांसद अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य 

इटहरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। मुख्यमन्त्रीका दाबेदार भीम आचार्यसहित १६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका हुन्।

अल्पमतमा रहेको माधव नेपाल समूहका सांसद आचार्यले राईलाई नै समर्थन गर्ने भएका छन्। चैत ११ गते बसेको संसदीय दलको बैठकले ३ दिन भित्र अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो। आचार्य पक्षका सांसद धमाधम राईको पक्षमा जान थालेपछि उनी अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य भएका हुन्।

गत पुस १२ गते कार्यसम्पादन गर्न नसकेको भन्दै तत्कालीन नेकपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराए थिए। एमालेका २१ र माओवादी केन्द्रका १६ सांसदको हस्ताक्षर रहेको प्रस्ताव दर्ता भए पनि संसदमा छलफल हुन पाएको थिएन। 

गत चैत २ गते बोलाइएको संसद् बैठक पनि मुख्यमन्त्रीकै दबाबको कारण रोकिएको थियो। बिना कारण स्थगित बैठक यहीँ चैत २३ गते बस्ने भएको छ। 

आन्तरिक झगडामा रुमलिएको सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा चलायमान हुन नसकेको नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला बताउँछन्। सरकारका कारण प्रदेश संरचना माथि नै प्रश्न उठ्न थालेको उनले बताए। 

चैत १८, २०७७ बुधबार ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।