आगामी आर्थिक वर्षको बजेट तयार गर्ने काम सुरु 

आगामी आर्थिक वर्षको बजेट तयार गर्ने काम सुरु 

काठमाडौँ : आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट तयार गर्ने काम सुरु भएको छ। राष्ट्रिय योजना आयोगले तोकेको सीमा भित्र रहेर बजेट तयार गर्ने काम सुरु भएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले जानकारी दिए। 

योजना आयोगले १७ खर्ब हाराहारीको बजेटको सिलिङ पठाएको छ। आयोगले तोकेको सिलिङलाई आधार मानेर बजेट तयारी गर्ने शर्माले बताए। ‘सिलिङ अनुसार नै बजेट तयार हुन्छ भन्ने छैन,’ उनले भने, ‘बजेटको अङ्क तलमाथि हुनसक्छ।’

अर्थ मन्त्रालयले नयाँ योजनालाई भन्दा क्रमागत (पुरानै) योजनालाई प्राथमिकतामा राखेर बजेट प्रस्ताव गर्न सबै मन्त्रालयलाई भनेको सहसचिव शर्माले बताए। शर्मा सहित ५ जना सहसचिवले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा काम गरिरहेका छन्। 

संविधान अनुसार जेठ १५ गते सङ्घीय संसदमा बजेट प्रस्तुत गरिसक्नु पर्ने व्यवस्था छ। संविधानमा भएको व्यवस्था अनुसार जेठ १५ मा प्रस्तुत हुने बजेटमा नयाँ योजना ल्याउने तयारी नभएको अर्थ मन्त्रालयले जनाएको छ। 

पहिलेकै क्रमागत योजनालाई प्राथमिकतामा राखेर बजेट तयार हुने सहसचिव शर्माले बताए। शर्माका अनुसार मन्त्रालयहरूले दिने योजना समावेश गरेर बजेट तयार हुनेछ।

मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउन सूचना नै निकालेको छ। वैशाख ५ गतेसम्म विभिन्न सङ्घ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिक सुझाव दिन मन्त्रालयले अनुरोध गरेको हो। 

आगामी आर्थिक वर्षको बजेट तयारी गरिरहँदा चालु बजेटमा राखिएका योजनाको बजेट रकमान्तर हुने क्रम भने रोकिएको छैन। मन्त्रालयहरूले एउटा योजनाको बजेट अर्को योजनामा खर्च गर्न अर्थ मन्त्रालयसँग अनुमति मागिरहेका छन्। ‘चालु वर्ष कुल बजेटको १० प्रतिशत रकम रकमान्तर हुने देखिन्छ,’ बजेट महाशाखा प्रमुख शर्माले उकेरासँग भने,‘धेरै भएको ठाउँको बजेट थोरै या नपुग भएका आयोजनामा रकमान्तर हुन्छ।’

विनियोजन ऐनमा तोकिएको कुनै शीर्षकमा रकम नपुग भएमा सो नपुग भएको रकम सोही ऐनमा तोकिएको कुनै एक वा एक भन्दा बढी शीर्षकमा बचत हुने भएमा ऐनमा तोकिएको सीमाभित्र रही एक शीर्षकबाट अर्को शीर्षकमा अर्थ मन्त्रालयले रकमान्तर गर्न सक्ने व्यवस्था छ।

चैत १६, २०७७ सोमबार ०८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।