थ्री नेसन्स कपमा नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपाल बंगलादेशसँग प्रतिष्पर्धा गरिरहेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ७ मिनेटसम्म दुवै टोलीबाट गोल हुन सकेको छैन।
जारी प्रतियोगितामा नेपाल र बंगलादेश आफ्नो दोस्रो तथा प्रतियोगिताको लिग चरणको अन्तिम खेल खेलिरहेका छन्।
यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशले किर्गिस्तानको यु–२३ लाई १–० ले पराजित गरेको थियो। नेपालले भने किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको थियो।
जारी प्रतियोगिताको अंकतालिकामा बंगलादेश शीर्ष स्थानमा छ। अंकतालिकामा ३ अंक बटुलेको बंगलादेश फाइनलसमेत पुगिसकेको छ।
नेपाल भने १ अंकसहित दोस्रो स्थानमा छ। किर्गिस्तानको यु–२३ टोलीको पनि समान १ अंक छ। ऊ गोल अन्तरका आधारमा नेपालभन्दा पछि छ।
किर्गिस्तानले १ गोल खाएको छ भने नेपालले अहिलेसम्म गोल खाएको छैन। यी दुवै टोलीले प्रतियोगितामा गोल गर्न सकेका छैनन्।
नेपालको फाइनल पुग्ने बाटो
प्रतियोगिताको फाइनल पुग्न नेपालले बंगलादेशविरुद्ध आजको खेलमा बराबरी गर्नुपर्ने वा जित निकाल्नुपर्ने हुन्छ।
नेपाल १ गोलअन्तरले पराजित भएको खण्डमा भने पहेँलो कार्ड र रातो कार्डका आधारमा फाइनल पुग्ने टोलीको टुंगो लाग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। यो अवस्थामा पनि नेपालको सम्भावना बढी रहेको एन्फा बताउँछ।
तर, आजको खेलमा नेपाल १ भन्दा बढी गोलअन्तरले पराजित भएमा प्रतियोगिताको अंकतालिकामा पुछारमा रहेको किर्गिस्तानको यु–२३ टोली फाइनल पुग्ने छ।
प्रतियोगिताको फाइनल आगामी सोमबार हुने छ।
चैत १४, २०७७ शनिबार १८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।