थ्री नेसन्स कप फुटबल : नेपाल किर्गिस्तानसँग प्रतिष्पर्धा गर्दै
काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल किर्गिस्तानको यु–२३ टोलीसँग प्रतिष्पर्धा गरिरहेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २० मिनेट सकिँदा दुवै टोलीबाट गोल हुन सकेको छैन।
नेपालले गोलकिपर किरनकुमार लिम्बूको कप्तानीमा रहेको टोलीलाई मैदानमा उतारेको छ। टोलीमा डिफेन्डरहरू रोहित चन्द (उपकप्तान), रञ्जीत धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी छन्।
यस्तै, मिडफिल्डरहरूमा त्रिदेव गुरुङ, सन्जोग राई, तेज तामाङ, रविशंकर पासवान छन् भने फरवार्डहरूमा अञ्जन विष्ट र अभिषेक रिजाल छन्।
जारी प्रतियोगितामा नेपालको यो पहिलो खेल हो। किर्गिस्तान भने प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलिरहेको छ।
यसअघि आफ्नो पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोली बंगलादेशसँग ०–१ ले स्तब्ध भएको थियो।
जारी खेल जिते नेपाल फाइनल पुग्ने छ।
राउण्ड रोबिनका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्ने छन्।
चैत १२, २०७७ बिहीबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।