महँगा गाडीसँगै मरीच, छोकडा र केराउको आयात खुल्यो, तस्करीको जोखिम

काठमाडौँ : सरकारले महँगो सवारीसाधन, सुपारी, केराउ, छोकडा र मरिचको आयातमा लगाएको रोक खुलाएको छ।
कोरोना सङ्क्रमण बढेसँगै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको भनेर सरकारले यसको आयातमा पूर्ण रोक लगाएको थियो।
अर्थतन्त्रमा सुधार आउँदै गएको भन्दै सरकारले रोक खुकुलो बनाउँदै राजपत्रमा सूचना निकाली सकेको छ। सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार आर्थिक वर्ष २०७७/७८ का लागि ८० हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी केराउ विदेशबाट आयात गर्न सकिने छ।
सुपारी २५ हजार टन, परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने र छोकडा ५ हजार मेट्रिक टन ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने सूचनामा उल्लेख छ।
नधुल्याएको मरीच आर्थिक वर्ष २०७७/७८ का लागि १५ हजार मेट्रिक टन आयातको बाटो खुलेको छ। ५० हजार अमेरिकी डलरमाथिको गाडी खरिदमाथिको प्रतिबन्ध पनि हटेको छ।
आयात खुले पनि कुन व्यवसायीले कति परिमाण आयात गर्न पाउने सो तोकिएको छैन । आयातको कोटा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले तोक्छ।
तस्करीको जोखिम
महँगा गाडी बाहेक कोटा तोक्दै आयात खुलेको मरीच, केराउ र सुपारी भारत तस्करी हुने गरेका छन्। तस्करीका कारण नेपाली बजारमा केराउको अभाव छ।
सुपारी र मरीच समेत भारत तस्करी हुने गरेका छन्। कोटा तोकिए पनि कुन व्यापारिक फर्मले कति ल्याउन पाउने सो नतोकिए बजारमा मनोमानी मूल्यसँगै तस्करीको जोखिम उस्तै देखिन्छ।
वार्षिक ११ अर्बको आयात
गत वर्ष प्रतिबन्ध लाग्नुअघि सम्ममा नेपालमा ११ अर्ब ११ करोड रुपैयाँ बराबरका केराउ, मरीच र छोकडा आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।
चैत १०, २०७७ मंगलबार ०८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।