जुद्ध फ्याक्ट्रीको जग्गा लिलाम विवाद : प्रधानन्यायाधीशसहितको इजलासले विपक्षीलाई जितायो

काठमाडौँ : सर्वोच्च अदालतले जुद्ध म्याच फ्याक्ट्रीको जग्गा लिलामी गर्ने निर्णय सदर गर्दै शारडा ग्रुपलाई त्यसको भोगाधिकार दिएको छ। ७ बिघा १६ कट्ठा १३ धुर जग्गा सस्तो दरमा लिलामी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै लिलामीको निर्णय सदर गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले ४ करोडमा जग्गा लिलामी गर्ने निर्णय सदर गरेपछि नेपालको पहिलो सलाई कारखाना खुलेको जग्गाको स्वामित्व शारडा ग्रुपमा पुगेको छ।
फ्याक्ट्रीले सो जग्गा नेपाल बैङ्कमा राखेर ऋण निकालेको थियो। ऋण नतिरेपछि बैकंले लिलामी गरेको थियो। विसं २००३ मा स्थापना भएको सो कम्पनीको जग्गा र टहरा रहेको क्षेत्रमा एक जनालाई मात्र बोलपत्र हाल्न लगाएर न्यूनतम सरकारी मूल्याङ्कन भन्दा पनि कम दरमा बैङ्कले लिलामी गरेको भन्दै सुरेन्द्रलाल सुवाल पक्षले सर्वोच्चमा रिट हालेको थियो।
तत्कालीन समयमा सरकारी मूल्याङ्कन अनुसार पनि जग्गाको मूल्य १५ करोडभन्दा बढी पर्ने रिटमा दाबी गरिएको थियो। कम्पनीका अध्यक्ष सुवालले २०७० असार ३१ मा सर्वोच्चमा लिलामी बदरको माग गर्दै रिट दायर गरेका थिए।
चैत ९, २०७७ सोमबार १८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।