खनाल-नेपाललाई पेलेर भटाभट बैठक राख्दै ओली

काठमाडौँ : केन्द्रीय कमिटी विस्तार लगायतका निर्णय रद्धको माग गर्दै एमालेका नेता झलनाथ खनाल र माधव नेपाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बोलाउने एकपछि अर्को बैठक बहिष्कार गरिरहेका छन्।
प्रधानमन्त्री ओली भने वास्तै नगरी पार्टीको एकपछि अर्को बैठक राखेर निर्णय गरिरहेका छन्। पहिल्यै राखेको केन्द्रीय कमिटीको निर्णयको विवाद समाधान हुन सकेको छैन।
प्रधानमन्त्री ओलीले शनिवार संसदीय दलको बैठक राखेर दलको विधान संशोधन गर्दै पुन केन्द्रीय कमिटीको बैठक राखेर अनुमोदन गराए।
संशोधित प्रावधानमा कारबाहीको दायरा कसिलो पारेका छन्। यता पार्टी अध्यक्ष ओली एकतर्फी रूपमा बैठक राखेर निर्णय गराइरहेका छन्। उता झलनाथ खनाल र माधव नेपाल समूहले पनि समानान्तर गतिविधिलाई बढाएका छन्।
ओलीलाई दबाब दिन उनीहरूले २ दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिराखे।। शनिवार बालुवाटारमा बसेको संसदीय दलको बैठकको काउन्टरमा आफू निकट सांसदहरूलाई सिंहदरबारमा बोलाएर बैठक राखे।
उताको बैठकमा विधान संशोधन प्रस्ताव पारित भयो। खनाल-नेपालको बैठकमा ओलीलाई बुझाउने पाँच बुँदे पत्र।
अन्योलमा बामदेव
संसदीय दलको बैठकमा बामदेव गौतम पुगे। तर केन्द्रीय कमिटीमा गएनन्।
नेकपाबाट एमाले ब्युँतिएपछि पनि कतै नलाग्ने दाबी गर्दै पार्टी सुदृढीकरण अभियान सुरु गरेका उनी अलमलमा देखिए।
ओलीले सरकारी निवासमा संसदीय दलको बैठक राखेपछि खनाल-नेपाल समूहले पनि सिंहदरबारमा आफ्नो समूहका सांसदको बैठक राखेका छन्। तर गौतम बालुवाटार पुगेका थिए। तर कमिटी बैठकमा बसेनन्।
चैत ७, २०७७ शनिबार १७:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।