नेपाललाई विश्व बैङ्कले ७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने

नेपाललाई विश्व बैङ्कले ७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ : नेपाललाई विश्व बैङ्कले कोरोनाविरुद्धको खोप र महामारीको थप सशक्त प्रतिकार्यका लागि  ७.५ करोड अमेरिकी डलर करिब ८.७ अर्ब नेपाली रुपैयाँ वित्तीय सहयोग अनुमोदन गरेको छ।

विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोरोना विरुद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्याउन सहयोग अनुमोदन गरेको हो। 

विश्व बैङ्कका अनुसार अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर  करिब ८.७ अर्ब नेपाली रुपैयाँ बराबरको वित्तीय सहयोग कम्तीमा एक तिहाइ जनसङ्ख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।

मल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस् हदाद–जर्भोसले  कम्तीमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्त्वाकाङ्क्षी योजनालाई सघाउन सहयोग गरेको बताएका छन्। उनले यो सहयोगलाई नेपाल र विश्व बैङ्कको बलियो साझेदारीको प्रमाण भनेका छन्।  

यो सहयोग गत वर्ष चैतमा विश्व बैङ्कले स्वीकृत गरेको २.९ करोड अमेरिकी डलर अर्थात् ३.३ अर्ब नेपाली रुपैयाँ बराबरको सहयोगको सन्दर्भमा टेकेर अतिरिक्त वित्त सहयोग आएको विश्व बैङ्कले जनाएको छ।  

बैङ्कका अनुसार यो नयाँ वित्त सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोरोनाविरुद्धको खोपको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्या बाहेकका अन्य समूहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ। बाँकी १० प्रतिशत रकम नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्ने बैङ्कले जनाएको छ।  

विश्व बैङ्कको स्वास्थ्य, पोषण र जनसङ्ख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एसियाका लागि अभ्यास प्रबन्धक, गेल रिचर्डसनले यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रका लागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। 

वित्तीय सहयोगका अतिरिक्त विश्व बैङ्कले दक्षिण एसियाका देशहरूमा न्यायसङ्गत, निष्पक्ष र समतामूलक खोप वितरणको रणनीति डिजाइन र कार्यान्वयनका विविध पक्षहरूमा प्राविधिक सहयोग र ज्ञान साझेदारी कार्यशालाहरू पनि प्रदान गर्ने जनाएको छ। 

चैत ६, २०७७ शुक्रबार १०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।