माधव नेपाल समूहको भेलामा आए कारबाही गर्ने ओली समूहको चेतावनी

माधव नेपाल समूहको भेलामा आए कारबाही गर्ने ओली समूहको चेतावनी

काठमाडौँ : माधव नेपाल समूहले चैत ४ र ५ मा आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भए कारबाही गर्ने केपी ओली समूहले चेतावनी दिएको छ। ओली समूहमा रहेका एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति निकालेर ‘ अनधिकृत गुटगत भेला नगर्न–नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन, र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन’ निर्देशन दिइएको छ।

यदि भेलामा सहभागी भए संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने चेतावनी दिइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार प्रधानमन्त्री निवासमा आयोजना गरेको चियापान कार्यक्रममा समेत कारबाहीको धम्की दिएका थिए। धम्कीको प्रतिउत्तरमा भोलि र पर्सिको भेलाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा माधव समूहमा रहेका सांसद तथा नेता योगेश भट्टराईले आफूहरू कारबाही भोग्न लामबद्ध हुन तयार रहेको बताएका थिए।

सर्वोच्च अदालतको परमादेशका आधारमा नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि एमाले अध्यक्ष समेत रहेका ओलीले आफू निकटका केन्द्रीय सदस्यको बैठक राखेर पार्टी पदाधिकारीमा आफू र महासचिव मात्र कायम गर्ने, केन्द्रीय सदस्य थप्ने र प्रदेश प्रमुख बदल्ने निर्णय गरेपछि एमालेमा विवाद बढेको थियो।

विवाद समाधान गर्न ओली र नेपाल समूहबिच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भए पनि छलफल टुङ्गोमा पुग्न नसकेपछि नेपाल समूहले डाँकेको राष्ट्रिय कार्यकर्ता भेलालाई जारी राखेका थिए।

चैत ३, २०७७ मंगलबार २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।