सिलिङमा रहेर बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयको आग्रह

सिलिङमा रहेर बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयको आग्रह

काठमाडौं : अर्थ मन्त्रालयले पूर्व निर्धारित समयमा सिलिङमा रहेर बजेट प्रस्ताव गर्न सबै मन्त्रालयलाई आग्रह गरेको छ। 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज (सोमबार) आयोजित कार्यक्रममा अर्थ मन्त्रालयले यस्तो आग्रह गरेको हो। कार्यक्रममा अर्थले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार तथा मार्गदर्शनबारे जानकारी गराएको थियो। 

कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानी, क्षेत्रगत र प्रादेशिक सन्तुलन र दिगो विकास लक्ष्यलाई बजेट निर्माणका मुख्य आधारका रूपमा प्रस्तुत गरेको हो।  

त्यसैगरी, बजेट निर्माणका मार्गदर्शनहरूमा दीर्घकालीन नीति, आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र बजेटबीच अन्तर आबद्धता कायम गर्ने, अनिवार्य दायित्वमा पुग्दो रकम प्रस्ताव गर्ने, पूर्वसहमति दिइएका विषयमा दायित्व अनुमान गरी सिलिङभित्र विनियोजन प्रस्ताव गर्ने लगायतका छन्। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले बजेट निकासामा अर्थ मन्त्रालय थप सरलीकृत गर्न जरुरी रहेको बताए।

मुख्यसचिव शंकरदास बैरागीले बजेटमा रचनात्मक छलफलबाट कार्यान्वयनमुखी बजेट आउने बताए। उनले बजेट कार्यान्वयन म्याट्रिक्स बनाउन पनि जरुरी रहेको धारणा व्यक्त गरे।

अर्थसचिव शिशिरकुमार ढुंगानाले कार्यक्रमहरूको राम्रोसँग विश्लेषण गरी बजेट प्रस्ताव गर्न जरुरी रहेको उल्लेख गर्दै सिलिङलाई प्रभावकारी बनाउन आग्रह गरे।

राजस्वसचिव रामशरण पुडासैनीले आवश्यकताका आधारमा बजेट बनाउनुपर्ने भन्दै राजस्व बढाउने कार्यक्रमलाई पनि ध्यान दिन जरुरी रहेको बताए। 

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले एकातिर बजेट खर्च भएन भन्ने र अर्काेतिर स्रोत पुगेन भन्ने जस्ता विरोधाभास हटाउने गरी काम गर्नुपर्ने बताए। 

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले चालु आर्थिक वर्षको कार्य सम्पादनलाई पनि आधार बनाउनुपर्नेमा जोड दिँदै मितव्ययितासम्बन्धी मापदण्ड पालना गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा सचिवहरूले संघ, प्रदेश र स्थानीय तहको बजेटमा समन्वय हुनुपर्ने, नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने, दोहोरीपन हटाउनुपर्ने, प्राथमिकता निर्धारण गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार मन्त्रालयहरूले यही चैत १५ गतेभित्रमा अर्थ मन्त्रालयमा बजेट प्रस्ताव गर्नुपर्ने कार्यतालिका छ। 

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट सिलिङ अर्थ मन्त्रालयलाई पठाइसकेको छ। आगामी आर्थिक वर्षका लागि १६ खर्ब ९७ अर्ब रूपैयाँको सिलिङ पठाएको उल्लेख छ।

चैत २, २०७७ सोमबार २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।