रूपन्देही सुपर लिग : वेस्टर्नलाई उपाधि
भैरहवा : वेस्टर्न क्रिकेट क्लबले पहिलो पटक रूपन्देही सुपर लिगको उपाधि जितेको छ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा न्यु होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै उसले उपाधि जितेको हो।
जितसँगै उसले नगद ८० हजार रूपैयाँ पुरस्कार जितेको छ। उपविजेता होराइजनले ४० हजार रूपैयाँ पुरस्कार पाएको छ।
जितका लागि १०७ रनको लक्ष्य पाएको वेस्टर्नले २८.४ ओभरमा लक्ष्य पूरा गर्याे। उसका लागि देव खनालले सर्वाधिक ४४ रनको योगदान दिए। यस्तै, उत्तम थापाले २६, एकेन्द्र कुँवर र अजय कौशिल्याले समान २२ रन जोडे।
होराइजनका गोविन्द केसीले २ तथा तुलबहादुर थापाले १ विकेट लिए।
त्यसअघि ३० ओभरमा छोट्याइएको खेलमा होराइजनले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो।
होराइजनका लागि विशाल खत्रीले सर्वाधिक २३ रन बनाएका थिए। यस्तै, सुमित पराजुलीले १८, अमर मिश्राले १३, शक्ति गौचन र गोविन्द केसीले समान १० रन बनाएका थिए।
होराइजनलाई सस्तैमा रोक्न वेस्टर्नका हरजित सिंह, देव खनाल र राहुल कुमारले समान २ विकेट लिँदा अभिषेक गौतम, एकेन्द्र कुंवर र विवेक पराजुलीले १/१ खेलाडीलाई पेवेलियनको बाटो देखाएका थिए।
खेलको म्यान अफ दि म्याच देव खनाल घोषित भए। उनले ५ हजार रूपैयाँ पुरस्कार जिते।
यस्तै, वेस्टर्नका राहुल कुमारले म्यान अफ द सिरिज घोषित भए। उनले १५ हजार रूपैयाँ पुरस्कार पाए। उनी उत्कृष्ट ब्याट्सम्यानसमेत बने।
लुम्बिनी खुकुरीका अजय लोनिया उत्कृष्ट बलर भई ५ हजार रूपैयाँ हात पारे। लिगमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका पुरुषोत्तम भट्टराई उदयीमान खेलाडी हुँदै ५ हजार रूपैयाँबाट पुरस्कृत भए।
उपाधि विजेता र उपविजेता खेलाडीहरूलाई पूर्वमन्त्री दीपक बोहरा, आयोजक संस्था रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल लगायतले पुरस्कार प्रदान गरेका थिए।
चैत १, २०७७ आइतबार १९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।