काठमाडौं मेयर्स कपको उपाधि पुलिसलाई

काठमाडौं : नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको फाइनलमा उसले अर्को विभागीय टोली एपिएफ क्लबलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेकाे हाे।
त्रिवि क्रिकेट मैदानमा एपिएफले दिएको १ सय ६ रनको लक्ष्य पुलिसले २४.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
पुलिसका लागि सुनिल धमलाले ५९ रन बनाए। यस्तै, अनिल साह र कुशल भुर्तेलले समान १५ रनको योगदान दिए। दीपेन्द्र सिंह ऐरी ११ रनमा अविजित रहे।
एपिएफका अविनास बोहरा र भुवन कार्कीले समान १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले २९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो।
एपिएफका लागि वसन्त रेग्मीले सर्वाधिक २२ रनको योगदान दिए। यस्तै, सन्दीप जोरा र अमर रौटेलाले १८/१८ रन बनाए।
भुवन कार्कीले १४ रन जोड्दा अविनास बोहराले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।
एपिएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले समान ४ विकेट लिए। पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए।
फागुन २९, २०७७ शनिबार २३:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।