वेस्टर्न क्रिकेट क्लब फाइनलमा, उपाधिका लागि न्यु होराइजनसँग भिड्ने  

वेस्टर्न क्रिकेट क्लब फाइनलमा, उपाधिका लागि न्यु होराइजनसँग भिड्ने  

भैरहवा : साविक विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई पराजित गर्दै वेस्टर्न क्रिकेट क्लब रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। 

सिद्धार्थ रंगशालामा आज (बिहीबार) सम्पन्न दोस्रो सेमिफाइनलमा उसले लुम्बिनी खुकुरीलाई ५ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। 

वेस्टर्नले आगामी शनिबार न्यु होराइजन क्रिकेट क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

१ सय ५१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको लुम्बिनी खुकुरी ३५.१ ओभरमा १ सय ४५ रनमा अलआउट भयो। उसका लागि निश्चल चौधरीले सर्वाधिक ३३ रन जोडे। यस्तै, प्रज्ज्वल थापाले १३, शैलेश श्रीवास्तव र सजाद आलमले समान ११ रन बनाए। दुर्गेश गुप्ता १० रनमा अविजित रहे। 

बलिङतर्फ वेस्टर्नका अभिषेक गौतमले ६ विकेट लिए। उनले १० ओभरमा ३ मेडन राख्दै २७ रन खर्चिए। यस्तै, हरिजत सिंह, विवेक पराजुली, एकेन्द्र कुँवर र देव खनालले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ५० ओभरमध्ये ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो। 

उसका लागि राहुल कुमारले सर्वाधिक ८२ रन बनाएका थिए। ९२ बल खेलेका उनले आफ्नो पारीमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै भुवन पाण्डे र एकेन्द्र कुँवरले ११÷११ रनको योगदान दिएका थिए। 

बलिङतर्फ लुम्बिनी खुकुरीका अजयकुमार लोनियाले सर्वाधिक ४ विकेट लिएका थिए। यस्तै, दुर्गेश गुप्ताले ३, श्रीकान्त केवटले २ र शैलेष श्रीवास्तवले १ खेलाडीलाई पेवेलियन फर्काएका थिए। 

खेलको म्यान अफ दि म्याच वेस्टर्नका गौतम घोषित भएको आयोजक संस्था रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए। 

फागुन २७, २०७७ बिहीबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।