रूपन्देही सुपर क्रिकेट लिग : लुम्बिनी खुकुरी सेमिफाइनलमा

भैरहवा : रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ।
भैरहवाको सिद्धार्थ रंगशालामा आज (शनिबार) भएको डिभिजन ‘ए’अन्तर्गतको खेलमा लुम्बिनी खुकुरीले सैनामैना क्रिकेट क्लबलाई १ सय १४ रनको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो।
१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको सैनामैना २५.३ ओभरमा ६६ रनमा समेटियो। उसका लागि बसन्त खड्काले १८ र मनिष क्षेत्रीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।
सैनामैनालाई सस्तैमा समेट्न लुम्बिनी खुकुरीका अजयकुमार लोनियाले ७ विकेट लिए। ७.३ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै १३ रन खर्चिए। यस्तै, अर्जुन करोसको नाममा २ तथा एजाज आलमको नाममा १ विकेट रह्यो।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।
उसका लागि प्रज्ज्वल थापाले ५१ रन बनाउँदा एजाज आलमले ३४ र सविन शाक्यले ३० रनको योगदान दिए।
बलिङमा सैनामैनाका वसन्त खड्काले ५ विकेट लिए। ५ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २३ रन खर्चिए। यस्तै, कृष्ण गिरी, सुनिल पौडेल, विशाल भुसाल र सरोज पौडेलले समान १ विकेट लिए।
खेलको म्यान अफ दि म्याच लुम्बिनीका लोनिया घोषित भएको आयोजक संस्था रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए।
हारसँगै सैनामैना डिभिजन ‘बी’मा घटुवा भएको छ।
फागुन २२, २०७७ शनिबार १८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।