धावक वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई चेम्बरको सम्मान

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० औँ वार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिता गरेको छ। चेम्बरको शिक्षा तथा खेलकुद समितिले गरेको दौड प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका चेम्बर अफ कमर्सले जनाएको छ।
विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता भएको थियो। प्रतियोगितामा छात्रतर्फ आदर्श सौला युवक माविका उदय लिम्बु प्रथम, नेपालय एजुकेसन फाउन्डेसनका युनिस आले मगर द्वितीय, आदर्श सौला युवक माविका प्रवीण तामाङ तृतीय भएका छन्।
यसै गरी भिमोदय मोडेल स्कुलका अमृत बोट, पिस प्वाइन्ट स्कुलका ओमप्रकाश थाकर र एम्स स्कुलका अविनाश कार्कीले सान्त्वना पुरस्कार पाए।
छात्रातर्फ पञ्चकन्या माविकी सरिता रम्तेल प्रथम, पञ्चकन्या माविकै सोनु घताने द्वितीय र गान्धी आदर्श स्कुलकी अन्जु खड्का तृतीय भए। यस्तै सीसीआरसीकी निशा थापा, पञ्चकन्या माविकी कविता चौलागाईँ र नेपाल आदर्श माविकी बसन्ती कुँवरले सान्त्वना पुरस्कार पाए।
पत्रकारहरूतर्फ महानगरखबर डट कमका रमेश शाक्यले प्रथम, अप्सरा साप्ताहिकका बालकृष्ण डङ्गोल, देखापढी डट कमका निकेश खत्री तृतीय भए। यस्तै व्यवसायीतर्फ सचिन्द्र प्रधानाङ्ग प्रथम, नवराज ढकाल द्वितीय र मणिकरत्न शाक्य तृतीय भए।
आज शनिवार बिहान भएको दौड प्रतियोगिताका विजयीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरे। कार्यक्रममा म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको थियो।
पुरस्कार वितरण कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए। अध्यक्ष श्रेष्ठले नेपाली सेनाद्वारा निर्माणाधीन पूर्वाधार विकास तथा निर्माणका कामले पनि सेनासँग नेपालको निजी क्षेत्रको सामिप्यता बढाएको उल्लेख गरे।
स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको जनाएको छ। नेपाल महिला चेम्बरले व्यापारिक प्रदर्शनी तथा मेला र गल्फ प्रतियोगिता पनि गर्ने जनाएको छ।
फागुन २२, २०७७ शनिबार १४:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।