जेठ १५ मा बजेट आउने अर्थमन्त्री पौडेलको दाबी

भैरहवा : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले जेठ १५ गते बजेट ल्याउने बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारलाई मर्का नपर्ने र उद्योगी व्यवसायीका समस्या पनि समाधान हुने गरी काम अगाडी बढाउनुपर्ने बताए।
निजी क्षेत्रको समस्या सुन्न र समाधान गर्न आफू र सरकार तयार रहेको उनको भनाइ छ। ‘राउण्ड टेबुलमा बसेर छलफल गछौं, निजी क्षेत्रको आत्मविश्वास बढाउने र प्रोत्साहित गर्ने सरकारको अभिभारा हो, ‘अर्थमन्त्री पौडेलले भने।
पछिल्लो समय कोभिड–१९ ले उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई असर पारेकोले कोभिड प्रभावित उद्योगी व्यवसायीको समस्या समाधानका लागि सहुलियतपूर्ण कर्जा लगायत विभिन्न कार्यक्रम अघि सारेको उनले बताए। लकडाउन अवधिको विद्धयुतकाे को डिमान्ड शुल्कमा छुट प्रदान गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको उनको भनाइ छ।
बुटवल र भैरहवालाई दुई सहरका रूपमा नबुझ्न अर्थमन्त्री पौडेलले आग्रह गर्दै रुपन्देहीमा महानगरको परिकल्पना गरिएको बताए। ‘अब सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा, बुटवल, सैन मैना, देव दह, सियारी, शुद्धोदन, ओमसतिया लगायतलाई समेटेर महानगर बनाउँछौँ, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर २०५१ सालदेखि आवाज उठाएका छौँ,’उनले भने।
सिद्धार्थनगरलाई लुम्बिनीसँग जोड्न बुद्ध चोकदेखि लुम्बिनीसम्म फराकिलो सडक निर्माण गरिएको अर्थमन्त्री पौडेलले बताए। सिद्धार्थनगरलाई विकासको दृष्टिकोणले पछाडि पर्न नदिइने उनको भनाइ छ। ‘बुटवल र सिद्धार्थनगर एक्लैले विकास गर्न सक्दैन, अब दुई वर्ष भित्र लुम्बिनी गुरुयोजनाको काम सम्पन्न हुन्छ,’अर्थमन्त्री पौडेलले भने।
फागुन २१, २०७७ शुक्रबार २०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।